नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य वृद्धि गरेको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ रूपैयाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ रूपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रूपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७४ रूपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ।
मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रूपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रूपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३९२ रूपैयाँ ८२ पैसा घाटा रहेको निगमले जनाएको छ। त्यसआधारमा अर्धमासिक रूपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरेको छ।
निगमका अनुसार सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ। इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ।
यसअघि पेट्रोल प्रतिलिटर ११६ रूपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर ९९ रूपैयाँमा बिक्री हुँदै आएको थियो।
निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो।