सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रूपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ।
होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए।
संकेत चिन्हमा सबभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबभन्दा तल होटलको नाम रहने छ।
यस्तो संकेत चिन्न निश्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ।
सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल/रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह अर्थात प्राप्त गरेको संकेत चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताए।
पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङमा TS लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताए।
यस्तै, मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङमा M र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङमा I लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने भएको छ।
बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङमा B & B लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गरिने भएको छ।