लुम्बिनी अष्टदिप मल्टिनेसनल प्रालिले रुपन्देहीको तिलोत्तमामा आवास विकास परियोजना सुरू गरेको छ।
रुपन्देहीको बुटवल तथा भैरहवा आधुनिक सहरको रूपमा विकास भइरहेका बेला प्रालिले तिलोत्तमा- ७ भलवारीमा आधुनिक बस्ती निर्माणका लागि आवास विकास परियोजना सुरू गर्न लागेको हो।
बुटवल-भैरहवा सडकखण्डको भलवारी चोकदेखि १४ सय मिटर पूर्व करिब ६ विगाह क्षेत्रफलमा १ सय २३ वटा आधुनिक र सुविधा सम्पन्न आवास निर्माण गर्न लागिएको प्रालिका अध्यक्ष नेत्र बनले जानकारी दिए।
कोरोना महामारीसंँगै सुस्ताएको घरजग्गा कारोबारका बीचमा प्रालिले मध्यम आर्थिक अवस्थाका परिवारलाई लक्षित गरी आवास परियोजना अगाडि सारेको जनाएको छ।
विशेष गरी बैंक तथा सरकारी कार्यालयका कर्मचारी, विदेशमा रहेका नागरिक लगायत एकै आर्थिक अवस्था भएका र आधुनिक तथा सुरक्षित बस्तीको चाहना राख्नेहरूलाई लक्षित गरी आवास विकास परियोजना अगाडि ल्याइएको बनले बताए।
प्रालिले एउटै कम्पाउण्डभित्र 'क' र 'ख' समूह गरी जग्गा र घरको क्षेत्रफल र मूल्य समेत दुई प्रकारमा घर निर्माण गर्ने जनाएको छ।

प्रालिका अध्यक्ष बनले 'क' समूहमा १४ धुर जग्गामा २९ सय स्क्वायर फुटका साढे दुई तले घर निर्माण गरिने छन्।
त्यस्तै, 'ख' समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फुटका घर निर्माण गरिने छन्।
प्रालिले 'क' समूहका घरका लागि २ करोड ५० लाख रुपैयाँ र 'ख' समूहका लागि १ करोड ७५ लाख रुपैयाँ मूल्य तय गरेको जनाएको छ।
परियोजनाअन्तर्गत समूह 'क' मा ३८ वटा र समूह 'ख' मा ८५ वटा घरहरू निर्माण हुनेछन्। यो परियोजना कम्पनीको पहिलो रहेकोले गुणस्तर र सरकारले तोकेको मापदण्डप्रति विशेष चनाखो रही भवन निर्माण गरिने प्रालिले जनाएको छ।
एन्ट्रास्पेश टेक्निकल कन्सल्टले डिपिआर तयार गरी घर निर्माणको काम भइरहेको र ३ वर्षभित्र सम्पन्न गर्ने गरी परियोजनाको काम अगाडि बढाइएको बनले बताए। प्रालिले यो परियोजनामा दुई अर्ब बढी लागत अनुमान गरेको छ भने घर लिन चाहनेहरुलाई अधिकतम २५ वर्षसम्मको बैंक सुविधा उपलब्ध गराउने जनाएको छ।

हालसम्म १५ वटा घरको लागि बुकिङ भइसकेको र बुकिङ गरेको ६ देखि ९ महिनाभित्रमा घर तयार गरी उपलब्ध गराइने सञ्चालक विष्णु प्रसाद भुसालले जानकारी दिए।
एकीकृत बस्तीमा खेल मैदान, बाल उद्यान, जिमखाना, स्विमिङ पुल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुराँ, सैलुन तथा मन्दिरसमेत परियोजना आफैंले निर्माण गरिदिने छ।
आवास विकास परियोजना क्षेत्र तिलोत्तमा नगरपालिकाले बस्ती विकासको लागि छुट्टयाएको क्षेत्र समेत रहेको र नेपाल सरकारले तय गरेको सहरी विकास मापदण्ड अनुसार भूकम्प प्रतिरोधी घर निर्माण गरिने भुसालले दाबी गरे।

परियोजनाले सडक, पार्क, स्विमिङ पुल लगायत गरी झण्डै ४० प्रतिशत खुला स्थान छोडेको जनाएको छ।
घरहरूको निर्माण कार्य सकिएर विक्री भइसकेपछि सार्वजनिक स्थान, बस्तीका लागि निर्माण गरिएका पार्क लगायतका संरचनाहरूको जिम्मेवारी बस्तीलाई नै हस्तान्तरण गर्ने जनाएको छ।
थोरै संख्याका घरहरू निर्माण गरी यसअघि पनि एकीकृत आवास परियोजनाले काम गर्दै आएको भए पनि यति धेरै लगानी र घरहरू निर्माण गर्ने गरी सुरू गरिएको परियोजना रुपन्देहीमा पहिलो भएको प्रालिले दाबी गरेको छ।