चितवनको भरतपुरको भेटेरिनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो। पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरूपको भेटेरिनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ।
भेटेरिनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईँका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटेरिनरी अस्पताल बनाउन लागिएको हो।
उक्त अस्पताल यही फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उनले जानकारी दिए। भेटेरिनरी अस्पतालका लागि रु २६ लाख बजेट विनियोजन भएको छ ।
अस्पतालमा उपचारकक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने जनाइएको छ।
केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरिनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि निर्माण गरिनेछ।
गत वर्ष सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्रीलाई नै परिचालन गरी अस्पतालको सेवालाई थप व्यवस्थित एवं प्रभावकारी बनाइने छ ।
‘सामान्यरूपमा अहिले केन्द्रले पशुको गोबर र दूध परीक्षण गर्दै आएकामा अब अस्पताल बनेपछि थप सेवासुविधा दिनेछौं’, उनले भने।
साथै अस्पताल बनेपछि पशु औषधिको प्रभावकारिता पनि परीक्षण हुनेछ। पशुलाई कस्तो औषधि दिने, कसरी खुवाउने भन्नेबारेमा पनि जानकारी दिने प्रमुख डा चापागाईँले बताए।
पशुपालन क्षेत्रको व्यवसायीकरण तथा पशु स्वास्थ्य सेवामा निरन्तर लागेको केन्द्रले पछिल्लो समय कृषक तथा पशुपालन व्यवसायीको हितमा काम गरिरहेको उनले बताए।
उनले भने, ‘केन्द्रले किसानको सेवा, सुविधाका लागि थप सामान पनि माग गरेको छ।’