निजी वायु सेवा कम्पनी श्री एअरलाईन्सले सुर्खेत विमानस्थमा परीक्षण उडान गरेको छ । सोमबार बिहान एअरलाईन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजद्वारा उडान परीक्षण गरेको हो ।
सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीका अनुसार १० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको थियो । सुर्खेतको आकाशमा दुई वटा परीक्षण गरिसकेपछि बिहान ११ बजेर ४० मिनेटमा जहाज काठमाडौं फर्किएको हो ।
उनका अनुसार पाईलट डिएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको हो । अब नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्नेबारे एअरलाईन्सका प्राविधिकहरुले अध्ययन गर्ने पन्थीले बताए ।
‘आज त पाईलटहरु मात्र आउनुभएको हो, नियमित उडान गर्नका लागि कति लोड बोक्न सकिन्छ भन्नेबारे उहाँहरुले अध्ययन गर्नुहुन्छ,’ उनले भने, ‘२० देखि २२ डिग्रीसेल्सियस टेम्प्रेचरसम्म क्षमता अनुसारको लोड ल्याउन सकिन्छ भनेर पाईलटले भन्नुभएको छ, त्यसभन्दा धेरै भयो भने घटाउनुपर्ने हुनसक्छ ।’
श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ । नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनले बताए ।