हेर्दा कहालीलाग्दो छ मौरीभीर। आफ्नो ढाडमा डोरी बाँधी तुरुलुङ्ग झुन्डिएका छन् ३५ वर्षीय नविन राना। बासको चोया र काठ प्रयोग गरी बनाइएको १ सय मिटरको भर्याङमा अडिएका छन् उनी।
यो गत शनिबार निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्र गलकोटले आयोजना गरेको मह शिकार (हनी हन्टिङ) महोत्सवको दृष्य हो।
मौरीनजिकै पुगेर चाका निकाल्दा उनी पूरै मौरीले घेरिएका हुन्थे।
बन्दोवस्तीका सामानसहित ११ जनाको टोली मह शिकारमा खटिएको थियो। टोलीमा रहेका कोही भीरमा जाने, कोही तल बस्ने, कोहीले काढेको मह निचोर्ने गरी कामको बाँडफाँड गरिएको थियो।
शिकार टोलीको नेतृत्व ५४ वर्षीय धनबहादुर घर्तीले गरेका थिए। अन्य सहयोगीको साथमा मह काढ्ने काम सोही टोलीका गिरीप्रसाद घर्ती र नविन रानाले गरेका थिए।
लामो समयदेखि घर्ती र रानाले यसरी नै ज्यान हत्केलामा राखेर मह काढ्दै आएका छन्। सुरुमा डर लागे पनि आजकाल बानी भइसकेकाले त्यस्तो अनुभूति नहुने राना बताउँछन्।
उनका अनुसार सुरुमा हरियो घाँसको धूवाँ मौरी भएको ठाउँसम्म पुर्याइन्छ। धूवाँले मौरी लठ्ठ परेर चाका छाड्छन्। त्यसपछि आफूहरुले मह काढ्ने उनले बताए। पुनः मौरी आएर बसोबास गरोस् भनेर केही साना चाका भने सोही स्थानमै छाड्ने गरेको उनले जानकारी दिए।
३६ वर्षपछि उक्त भीरमा परम्परागत प्रविधिबाटै मह काढिएको रानाले बताए। ‘हाम्रा पुर्खाहरुले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएका छौँ’ उनले भने। मह शिकारमा पराङ, सुथरी, दाबिलो, डोरी लगायतका सामाग्री प्रयोग गर्ने गरिएको उनले बताए।
टोलीले शिकारमा जाँदा आफूसँग भएका ति सामाग्री साथै लिएर जाने गरेको छ। आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनौट हुने गरेको प्रमुख रानाले बताए। ‘जिन्दगी दाउमा राखेर शिकार खेल्नुपर्छ’ रानाले भने ‘यो निकै साहसिक र जोखिमपूर्ण काम हो।’
दुई घारको मात्र मह शिकार गर्दा झण्डै १० किलो मह निस्केको महोत्सव आयोजकले जनाएको छ। उक्त मह महोत्सव अवलोकनका लागि आएका दर्शकलाई बाँडिएको केन्द्रका अध्यक्ष ओमकार सुवेदीले बताए। ‘अहिले प्रचारात्मक हिसाबले मात्र मह शिकार गरिएको छ’ उनले भने ‘शिकारीकै सुझावमा धेरै घारको मह काढेनौँ।’
उक्त भीरमा ३० भन्दा बढी भीरमौरीका घार छन्। भर्खर मौरीले मह जम्मा गर्न सुरु गरेको हुँदा जेठमा सबै घारको मह काढ्न उपयुक्त हुने शिकारीले सुझाव दिएका छन्।
पहिलो पटक पर्यटन प्रवद्र्धनका रुपमा मह शिकार महोत्सव राखिए पनि पछि व्यवसायिक रुपमा शिकार गराइने गलकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बलबहादुर खत्रीले बताए। भीर मौरीको मह स्वास्थ्यबद्र्धक मानिने हुँदा व्यावसायीकरण गर्न सकिने उनको भनाइ छ।
घरमा उत्पादन हुने महजस्तै भीरमह पनि स्वादिलो र विभिन्न रोग विरुद्ध औषधिको रुपमा प्रयोग गरिन्छ।
जिल्लाको ताराखोला, रणसिंह किटेनी, पाण्डव खानीको रमुवा लगायतका क्षेत्रमा प्रत्येक वर्ष मह शिकार गर्ने गरिन्छ।