नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूले आवश्यक तालिम नलिइकन गएकै कारण उनीहरूले राम्रो काम र तलब पाउने गरेका छैनन्।
रोजगारीका लागि गएका अन्य देशका कामदारले आवश्यक सीप सिकेर आउने गरेको तर नेपालबाट जाने कामदारहरूसँग सीप नहुने भएकै कारण अन्य देशका नागरिकको तुलनामा नेपाली कामदारले जोखिमयुक्त र अरूले छोडेका काम गर्नु परिरहेको छ।
फिलिपिन्सलगायतका देशबाट जाने कामदार विदेश जानुअघि कुनै न कुनै तालिम अनिवार्य गरिए पनि नेपालको सन्दर्भमा त्यो लागू हुनसकेको छैन।
नेपालमा शिक्षा मन्त्रालयअन्तर्गतका प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी), श्रम मन्त्रालयअन्तर्गत व्यावसायिक तालिम केन्द्रबाट विभिन्न सीपमूलक तालिम दिने गरिए पनि ती तालिम वैदेशिक रोजगारीलाई लक्षित गरिएका छैनन्।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र सुरक्षित आप्रवास परियोजना (सामी)ले वैदेशिक रोजगारलाई नै लक्षित गर्दै विभिन्न तालिम दिने गरेका छन्। तर नेपालबाट विदेश जाने संख्याको तुलनामा त्यो तालिम पाउनेको संख्या निकै न्यून रहेको छ।
बोर्ड स्थापनापछि हालसम्म २० हजारलाई निःशुल्क तालिम दिएको कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए।
यो वर्ष पनि थप १० हजारलाई सीपमूलक तालिम दिने गरी प्रस्ताव आह्वान गरिसकेको उनले बताए।
यस्तै, सामीका ‘टिम लिडर’ सीता घिमिरेले वैदेशिक रोजगारलाई लक्षित गर्दै आफूहरूले पछिल्लो पाँच वर्षमा आठ हजार जनालाई तालिम दिइसकेको जानकारी दिए।
सामीले विभिन्न इन्स्टिच्यूटहरूमार्फत कुक, वेटर/वेट्रेस, हाउसकिपिङ, सरसफाई, कफी मेकर (बरिस्ता), फ्रन्ट अफिसलगायतका क्षेत्र, निर्माण क्षेत्रअन्तर्गत मेशन, स्काफोल्डिङ, आल्मुनियम फब्रिकेटर, वेल्डिङ, फर्निचर एण्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्सर, हाउसपेन्टिङ, कार्पेन्टर, हाउस वायरिङलगायतको तालिम दिने गरेका छन्। यस्तो तालिम वैदेशिक रोजगारीमा जानेहरूलाई निःशुल्क दिइएको उनको भनाइ छ।
यो वर्ष पनि एक हजारलाई तालिम दिने लक्ष्य राखिएको र सोहीअनुसार विभिन्न इन्स्टिच्यूटहरूमार्फत तालिम दिने कार्य भइरहेको उनले बताए। यस्तै, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँगको समन्वयमा एक हजार ५०० जनालाई तालिममा व्यवस्थापकीय खर्च ब्यहोर्ने सहमति सामीले गरेको छ।
हाल सामी परियोजनाले पुरुषका लागि एक महिनाको मेशन, शटरिङ कार्पेन्टर र स्काफोल्डीङ तालिम तथा महिलाका लागि गार्मेन्टको आवासीय तालिम दिइरहेको छ। सो तालिमपश्चात खाडी राष्ट्रमा मान्यताप्राप्त संस्थाले सीप परीक्षण गरी प्रमाणपत्र दिने भएकाले सो तालिम अन्तर्राष्ट्रियस्तरको हुने गरेको घिमिरेले बताए। आफूहरूले तालिम दिएर पठाएकाले अन्यको तुलनामा बढी तलब र सेवा, सुविधा पाएको अध्ययनले देखाएको उनले बताए।
काठमाडौं मनमैजुमा रहेको बहुउद्देश्यीय क्यापिटल ट्रेनिङ सेन्टरमा सामीको एकमहिने स्काफोल्डिङको तालिम लिइरहेका म्याग्दी, धौलागिरी गाउँपालिकाका खप्रसाद विकले आफू कुवेत जान चाहेको र तालिमपछि राम्रो तलब र काम पाउने आशा व्यक्त गरे।
सोही तालिम केन्द्रमा मेशनको तालिम लिइरहेका रोल्पा नगरपालिका–५ का शेरबहादुर केसीले तालिमपछि आफूलाई विदेशमा गएपछि सहजै काम गर्नसक्छु भन्ने आत्मविश्वास बढेको बताए। विदेश जान नपाए देशभित्रै पनि यो काम गर्न सकिने ठानी आफूले मेशनको तालिम लिइरहेको उनको भनाइ छ।
एक हप्ताको तालिम अनिवार्य
सरकारले कम्तीमा एक हप्ताको सीपमूलक तालिम लिएका व्यक्ति मात्रै वैदेशिक रोजगारीमा जानका लागि योग्य बन्ने तयारी थालेको छ।
बिना तालिम वैदेशिक रोजगारीमा जाँदा कमाई पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई मध्यनजर गर्दै श्रम तथा रोजगार मन्त्रालयले तालिम अनिवार्य गर्ने तयारी गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अबको एक वर्षभित्र अनिवार्य रूपमा तालिम लिएकालाई मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने गरी तयारी थालिएको जानकारी दिए।
उनले एक महिना वा सोभन्दा कम समयको छोटो तालिम, एक महिनाभन्दा बढी र तीन महिनाभन्दा कम समयको मध्यम तालिम र तीन महिनाभन्दा बढी समयको लामो अवधिमा गरी तीन तहको तालिमको प्रस्ताव कार्यविधिमा गरिएको बताए।
सकेसम्म एक महिना नभए कम्तीमा एक हप्ता तालिम लिएकाले मात्रै विदेश जान पाउनेगरी बोर्डले नीतिगत व्यवस्था गर्न लागेको हो।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले तयार पारी हालै श्रम तथा रोजगार मन्त्रालयले पारित गरेको ‘वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि’ अनुरुप अब तालिमका कार्यक्रम अघि बढाइनेछ।
सोही प्रावधानअनुसार तालिम नलिएकाको हकमा अबको एक वर्षपछि श्रम स्वीकृति नदिने नीति ल्याउन लागिएको हो।रासस