मयुर यातायातलाई रुट इजाजत दिएको भन्दै अरनिको राजमार्गका बस व्यवसायी समितिले यातायात आवगमन ठप्प पारेका छन्।
मयुर यातायातका सुविधासम्पन्न नयाँ बसहरुलाई यातायात व्यवस्था विभागले रुट इजाजत दिएको विरोधमा कोटेश्वर पूर्वका १३ वटा समितिले आइतबारबाट अरनिको राजमार्गमा गाडी गुडाउन बन्द गरेका छन्।
समितिले आफूहरुसँग पर्याप्त बस गुडाइरहेको तथा यात्रुहरुबाट कुनै गुनासो नआएको सन्दर्भमा मयुर यातायाले बिना सहमती अस्वस्थ प्रतिस्पर्धामा आएको भन्दै विरोध गरिएको बताएको छ।
मयुर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी संचालनमा ल्याएको थियो। चक्रपथ परिक्रमा गर्दै बनेपासम्म यी बस गुड्छन्।
यी गाडीमा वाईफाई तथा टिभीको सुविधा छ। त्यस्तै गम्भिर अपाङ्ग तथा ७० वर्ष माथिकालाई निःशुल्क सेवा सुविधा प्रदान गरिरहेको संघले जनाएको छ।
तर सो रुटमा चल्ने अधिकांश बस पुराना छन्। त्यसैले तुलनात्मकरुपमा सुविधासम्पन्न तथा नयाँ बस आफ्नै रुटमा गुडाएको भन्दै त्यहाँका समितिहरुले विरोध गर्दै आएका छन्।
यसअघि मयुरका आधा दर्जन बसमाथि भक्तपुर लगायतका क्षेत्रमा अज्ञात समुहद्धारा तोडफोड गरिएको थियो।
समितिले बस नचलाउँदा खासगरी भक्तपुर तथा काभ्रेका ग्रामिण क्षेत्रका यात्रु मारमा परेका छन्। त्यस्तै समितिहरुले माग सम्बोधन नभए १९ गते देखि कोटेश्वर पूर्वका मार्गमा गाडी नचलाइने चेतावनी दिएका छन्।
तर यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने समन्वय गर्नुको साटो पुराना व्यवसायीलाई उक्साइरहेको छ। महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले मयुरले अस्वस्थ प्रतिस्पर्धा गरेकाले विरोध गर्नुपरेको दाबी गरे।
कर्माचार्यले भएको संरचनालाई बिगार्नेगरी नयाँ बस थपिएको भन्दै त्यसको विरोधमा उत्रनु परेको बताए।
‘त्यस रुटमा चल्ने गाडीहरु कन्डिसनमा छन्। पर्याप्त बस छन्, यात्रुमा कुनै गुनासो छैन। यस्तोमा नयाँ त्यहाँ किन जानुपर्यो?’ कर्माचार्यले भने।
कमाचार्यले वषौंदेखि पुराना बसले दुर्गम क्षेत्रमा गएर सेवा दिइरहेको भन्दै मयुरको प्रवेशले अस्वस्थ प्रतिस्पर्धाको वातावारण सिर्जना गरेको जिकिर गरे। १३ वटा समिति झैं उनले पनि मयुरको रुट पर्मिट खारेज हुनुपर्ने भन्दै विरोध कार्यक्रममा आफूहरुको समर्थन रहेको समेत बताए।
तर सरकार भने पुराना बस व्यवसायीको सिण्डीकेट तोड्न प्रतिवद्ध देखिन्छ। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले कुन ठाउँमा कस्ता गाडी गुडाउन जरुरी छ भन्ने निर्णय सरकारको भएको भन्दै मयुरको पर्मिट खारेज गरिनुपर्ने माग अस्वभाविक भएको बताए।
उनले १३ वटा समितिले यातायात आवगमन अवरुद्ध पारेर विरोध जारी रहे उनिहरुको रुट खारेज गर्नुपर्ने अवस्था सिर्जना हुने बताए।
त्यस्तै मयुर यातायातले सुविधासम्पन्न नयाँ ठूला बसहरु संचालनमा ल्याएपछि यात्रुहरु उक्त बसमा आकर्षित हुँदै आएका छन्।
आफूहरुले बस गुडाउन सुरु गरेकै दिनबाट अवरोध गरिएको भन्दै बिचलित भई बस गुडाउन बन्द नगर्ने मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले बताए।
‘सेवा सुरु गरेका पहिलो दिनबाटै हामीले अवरोध भाग्दै आएका छौं, प्रशाशनमा हामीले सरक्षाको माग गरेका छौं, लगानी गरेर नयाँ बस ल्याइएको तथा जनाताबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं, उनले भने ‘त्यसैले सेवा जारी रहन्छ। अहिले २४ वटा मात्रै गाडी छन् २ महिनापछि ५० वटा पुर्याउने तयारी गरिरहेका छौं।’
यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिसदको कार्यलयले यातायात व्यवस्थापन विभागलाई सिन्डिकेटका विरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको थियो।