निर्माणमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाइरहेको एशियाली विकास बैंकले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ऋण तथा अनुदान नरोक्ने संकेत गरेको छ।
विमानस्थलको स्थलगत अनुगमनको लागि भैरहवा आएको एडीबीको टोलीले विमानस्थल स्तरोन्नतिको लागि नेपाल सरकारसँग भएको आफ्नो ऋण तथा अनुदान सम्झौता यथावत राख्ने संकेत गरेको हो।
विमानस्थलको काम प्रगतिबारे प्रत्यक्ष बुझ्न बिहिबार भैरहवा आएका एडीबीका नेपाल निर्देशक मुख्तार खामुदखानोभले कामको प्रगतिबारे आयोजना, मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनीसँग छलफल गरेका छन्।
अनुगमनमा विमानस्थलको पछिल्लो कामले गति लिएकोमा आफूहरू केही सन्तुष्ट रहेको भन्दै आउँदो जुनसम्म ५० प्रतिशत काम सम्पन्न गर्ने सहमति भएको एडीबीका नेपाल निर्देशक खामुदखानोभले बताए।
सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको विमानस्थल निर्माण चुस्त गतिमा होस् र समयमै सम्पन्न होस् भन्ने आफूले चाहेको उनले बताए। उनले समयमा योजना सम्पन्न गर्नेबारे नेपाल सरकार तथा आयोजनासँग सहजीकरण गरेर अगाडि बढ्ने बताए।
एडीबीले विमानस्थल निर्माणले सम्झौता अनुरुप गति नलिएको भन्दै गत जनवरीदेखि ऋण र अनुदान सहयोग रोकेको समाचार सार्वजनिक भएका थिए। तर, स्थलगत अनुगमनपछि ऋण तथा अनुदान सहयोग रोक्ने भन्ने पछिल्ला भनाइहरूको खण्डन गर्दै नेपाल सरकारसँगको सहकार्य र विमानस्थल निर्माणमा भएको सम्झौताबारे पूर्ववत सम्झौता विपरीत अरु निर्णय नभएको जनाएको छ।
विमानस्थल निर्माण प्रगतिबारे एडीबी, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, विमानस्थल निर्माण आयोजना तथा ठेकेदार कम्पनीले निर्माणको संयुक्त रूपमा अनुगमन गरेका थिए।
त्यसअघि भएको छलफलमा आवश्यक उपकरणसहित दक्ष जनशक्ति थप गरी कामको गति बढाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएशन पनि सकारात्मक देखिएको छ।
नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थलको गतिलाई बढाउन थप छलफल गर्ने एडीबीले जनाएको छ। विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माले पनि एडीबी सकारात्मक देखिएको जनाए।
ऋण र अनुदानको पुनः मूल्यांकन गर्न एडीबी टोली तीन दिनदेखि भैरहवामा रहेको छ।
सन् २०१५ को जनवरीमा सुरू गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौतासहित एडीबीले लगानी गरेको थियो। मधेश आन्दोलन, नाकाबन्दी, भूकम्पजस्ता कारणले लक्ष्य अनुसार काम गर्न नसकेको भन्दै ठेकेदारलाई सरकारले सन् २०१८ को जुनसम्म म्याद थपे पनि एडीबी सहमत भएको थिएन।
एडीबीले करिब २ महिनाअघि चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनी पत्र नागरिक उड्ययन प्राधिकरणलाई पठाएको थियो।
जनवरी यता उसले आफ्नो ऋण र अनुदान समेत बन्द गरेको थियो। कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतमा निर्माण सुरू गरिएको विमानस्थलमा एडीबीको ५४ करोड अनुदान रहेको छ। बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो।
रकमका हिसाबले अहिलेसम्म दुई अर्ब खर्चिएको छ। विमानस्थलको अहिले ३६ प्रतिशत काम सम्पन्न भएको छ। एडीबीसँग बिहीबार भएको सहमति अनुसार असार मसान्तसम्ममा थप १४ प्रतिशत काम सक्नुपर्ने छ ।