निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति विवरण प्रत्यक्ष बुझ्न र हेर्नका लागि एशियाली विकास बैंक (एडीबी) को टोली भैरहवा आएको छ।
सन्तोषजनक काम नभएको भन्दै जनवरीदेखि एडीबीले आफ्नो ऋण र अनुदान रोकेको छ।
भैरहवा आएका एडीबीका प्रतिनिधिहरूले विमानस्थलको प्रगति विवरण र अनुगमन गर्ने काम गरेका छन्। ऋण र अनुदानको पुनः मूल्यांकन गर्न बिहिबार एडीबीका नेपालका लागि निर्देशक मुख्तार खामुदखानोभ पनि भैरहवा आउँदै छन्।
निर्देशक खामुदखानोभले विमानस्थलको अवलोकन र प्रगति विवरण हेरेपछि मात्र पुनः मूल्यांकन हुने/नहुने थाहा हुने विमानस्थल आयोजनाले जनाएको छ।
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुनेगरी विमानस्थलको तीनवर्ष अघि काम सुरू भएको थियो। मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प जस्ता कारणले लक्ष्य अनुसार काम गर्न नसकेको बहाना बनाउँदै ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको थियो।
विमानस्थलको अहिले ३५ प्रतिशत मात्र काम सकिएको छ। विमानस्थल निर्माण आयोजनाको अनुसार विमानस्थलको निर्माण जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले अहिले कामलाई द्रुत गतिमा अघि बढाएको जनाएको छ।
आयोजना प्रमुख ओम शर्माले गएको भदौ यता काममा सुधार आएको बताए। उनले चिनियाँ ठेकेदार कम्पनीले व्यवस्थापक फेरेपछि कामले केही गति लिएको र असारभित्र परीक्षण उडान गराउने लक्ष्यसहित काम अघि बढाएको बताए।
कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको विमानस्थल आउँदो असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
लागतमध्ये एडीबीको ५४ करोड अनुदान रहेको छ भने चार अर्ब २० करोड रुपैयाँ ऋण रहेको छ। अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम भइरहेको विमानस्थल आयोजनाले जनाएको छ।