लमजुङस्थित ७० मेगावाट जडित क्षमताको मध्यमर्स्याङ्दी जलविद्युतबाट ३५ मेगावाट बिजुली उत्पादन सुरु भएको छ। फागुन १० गतेदेखि मर्मतको लागि पुर्णरुपमा बन्द रहेको आयोजनाले आज बेलुका ६ बजेदेखि आधा क्षमतामा उत्पादन सुरु गरेको हो। बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत अघिल्लो शुक्रबारबाट सुरु भएको थियो।
पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न ‘प्रोटेक्सन वाल’ लगाउने काम सकिएपछि एउटा युनिट संचालनमा आएको छ।
केन्द्रले मर्मतको काम १७ फागुन विहीबार राती ११ बजेसम्ममा सक्ने गरी काम गरिरहेको थियो।
अघिल्लो साता आयोजना स्थलमै पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएकै समयमा मर्मत कार्य सक्न निर्देशन दिएका थिए।
विद्युत गृहमा रहेको अर्को युनिट भने फागुन २३ गतेभित्र संचालनमा आइसक्ने आयोजनाले बताएको छ।