विश्व बैंकले नेपाल सरकारलाई ४४ अर्ब ऋण साहयता गर्ने भएको छ। तीनवटा परियोजनामा बैंकले नेपाललाई ४४ अर्ब ८२ करोड रुपैयाँ ऋण साहयता दिने सम्बन्धको ऋण सम्झौतामा हस्ताक्षण भएको छ।
व्यवसायिक शिक्षा तथा प्राविधिक तालिम, पशुपंक्षी क्षेत्रमा अनुसन्धान र पुर्ननिर्माणसँग सम्बन्धित आयोजनाको लागि उक्त ऋण खर्च हुने छ।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र विश्व बैंकका तर्फबाट कन्ट्रि म्यानेजर चिम्याओ फ्यानले हस्ताक्षर गरेका थिए।
अमेरिकी डलर ४४० मिलियन डलरको उक्त ऋण साहयतामध्ये इभेन्ट दोस्रो परियोजनाको लागि ६० मिलियन, पशुपंक्षी क्षेत्रको अनुसन्धानमा ८० मिलियन र पुर्ननिर्माणमा ३०० मिलियन खर्च हुने छ।
एकैपटक ठुलो परिणामको ऋण सम्झौता भएको यो ऐतिहासिक क्षण भएको र यसले विश्व बैक नेपालको बलियो साझेदार भएको पुष्टि भएको कन्ट्रि म्यानेजर चिम्याओ फ्यानले बताए।
‘यो ऐतिहासिक क्षण हो यो वित्तीय साहयताबाट नेपालको विकासमा महत्वपुर्ण टेवा पुग्ने विश्वास हाम्रो छ’ उनले भने,‘यसबाट अझै बढी रोजगारी सिर्जना हुने छ र उत्पादकत्व बढ्ने छ।’
विश्व बैंकको ऋण साहयताबाट विभिन्न परियोजन सम्पन्न भएपछि त्यसले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सफल हुने अर्थ सचिव अधिकारीको विश्वास छ।
‘यो साहयताको समयमै परिचालन भएमा पक्कै पनि गुणात्मक प्रभाव पार्ने छ’ उनले भने,‘त्यसैले म आजकै मितिमा सबैलाई आयोजना कार्यान्वयन गर्न निर्देशन पनि दिन्छु।’