चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।
दुईवटा युनिटमध्ये एक युनिटबाट उत्पादन भएको बिजुली आजदेखि राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिए।
३० मेगावाट क्षमताको यो आयोजनाबाट उत्पादित उक्त विजुली हालको लागि प्राररम्भिक परीक्षण(लोड रिजेक्सन टेष्ट) गरिएको र जनवरी १९ सम्म कुनै अवरोध नभएमा विजुली प्राशारण लाइनमा पठाइसक्ने आयोजनाले जानकारी दिएको छ।
पावरहाउसबाट उत्पादन भएको विजुली प्रसारण लाइनमा जाँदा कुनै अवरोध आउछ कि आउँदैन भनेर विभिन्न तहमा गरिने यस्तो परीक्षणमा रिलायविलिटी परीक्षण पनि गरिन्छ र त्यसपछिमात्र स्थायीरुपमा जोडिन्छ।
यसरी पहिलोचराणमा एउटा युनिटको विजुली पठाइसकेपछि अर्को युनिटबाट उत्पादन भएको विजुली पनि पठाइने दाहालले बताए।
लामो समयसम्म रोकिएको आयोजनाको काम अघिल्लो वर्ष जनार्दन शर्मा उर्जामन्त्री हुँदा अगाडि बढाउन निर्देशन दिएका थिए।
सन् २००७ मा सुरु भएको यो आयोजना २०११ मा सम्पन्न गर्ने सम्झौता भएको थियो। तर २०१३ सम्म ९७ प्रतिशत निर्माण कार्य सम्पन्न भएपनि सुरुङ निर्माणमा समस्या आएपछि आयोजना अगाडि बढ्न सकेको थिएन।
९० करोडको सुरुङ खन्ने आयोजनामा बीचमै चट्टान खुम्चिने समस्या सन् २००९ देखि सुरु भएको र ०११ बाट चरम भएर ०१३ मा काम ठप्प भएको थियो। त्यसपछि गेजुवाबाट उक्त आयोजना इटालिएन कम्पनीलाई दिने भन्दै प्राधिकरणले काम अगाडि बढाएको थियो। तर उक्त कम्पनीले पनि उक्त खुम्चिने समस्या निदानको लागि लाग्ने रकम बढी भनेपछि प्राधिकरण पछि हटेको थियो।