इस्लिङटन कलेजले रोजगार सहितको एमबिए कोर्षको अध्यापन थालेको छ।
कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष सुरु भएको जनाएको छ। बेलायतको लन्डन मेट्रोपोलिटन विश्व विद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि एमबिए कोर्ष पनि सुरु हुने उसले बताएको छ।
यो कोर्ष अध्ययनपछि नेपाल लगायत विश्वका कुनै पनि मुलुकको व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले जनाएको छ।
ब्यापारसँग सुक्ष्म अध्ययन गर्ने उद्देश्य सहित नयाँ विषयको शुरुवात गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिए। ‘बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गर्न नयाँ कोर्षको शुरुवात गरेका हौँ’ उनले भने।
उनका अनुसार पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसँगै चिनियाँ भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ। भाषासँगै अलिवावा डट कमका विज्ञ र त्यससँग सम्बन्धीत विज्ञसँग तालिमको व्यवस्था गरिएको बुढाथोकीले बताए।
चाइनामा तालिम गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्षमा गरिएको उनको भनाइ छ।
‘दुई वर्ष लामो म्यानेजेरियल लेभलको रोजगारी गरेका विद्यार्थीलाई छनौट गरी अध्ययन गर्ने अवसर भएकाले यो विषयको स्कोप विश्वमा नै बढेर जाने अपेक्षा हामीले गरेका छौँ’ प्रमुख कार्यकारी निर्देशक बुढाथोकीले भने।
करिब एक वर्षको लामो अध्ययनपछि बेलायतले यो कोर्ष संचालन गर्ने अनुमति दिएको कलेजले जनाएको छ। अनुसन्धानमा आधारित विषय भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययन गर्ने अवसर पाउनेछन्।
यो कोर्ष अध्ययन गर्न ५ लाख ५० हजार र चीन र थाइल्याण्डमा अतिरिक्त कोर्ष अध्ययन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ।