नेपालमा पहिलो पटक पुस २१ गतेदेखि अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा भृकुटीमण्डपमा हुने एक्स्पो २३ गतेसम्म चल्नेछ।
हाइड्रोपावर निर्माता,सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरुका एक सय भन्दा बढी स्टलहरु एक्स्पोमा रहने आयोजकले जनाएको छ। जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको रहने बताइएको छ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका ठूला कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ।
नेपालको जलविद्युतको बजार विस्तारका साथै अनुभव आदानप्रदान गर्दै ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने आयोजकको अपेक्षा छ।
हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणाबारे आविष्कार भएका बस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराई उत्कृष्टलाई पुरस्कृत गरिने बताइएको छ। तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ।