निर्माण प्रक्रिया सुरु भएको पाँच वर्ष र निर्माण सुरु भएको चार वर्ष वितिसक्दा पनि कोटेश्वर–कलंकी चक्रपथ विस्तार कार्य निर्धारित समयमै सम्पन्न हुनेमा आशंका गरिएको छ।
चीन सरकारको अनुदानमा निर्माण भइरहेको १० किलोमिटरको उक्त सडक विस्तार कार्य सन् २०१२ बाट सुरु भइ निर्माणको काम ०१३ बाट सुरु भएको थियो। सन् २०१६ मै सम्पन्न गर्ने लक्ष लिएको आठ लेन बनाउने उक्त आयोजनाको म्याद २ वर्ष थपिएको थियो।
थपिएको समयअनुसार २०१८ जुलाई ३१ सम्म सडक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। यस अघि सन् २०१३ जूनबाट काम सुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
आठ लेनका कलंकी–कोटेश्वर सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेपछि भूकम्प र नाकाबन्दीलाई प्रमुख कारण देखाउँदै २ वर्ष म्याद थप गरिएको थियो। नेपाल सरकार र चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपबीच सन् २०१३ जूनबाट काम सुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने सम्झौता भएको थियो।
तर त्यसपछिको समयमा पनि काम सन्तोषजनक नभएपछि समयमै सम्पन्न हुनेमा नेपाली अधिकारीहले आशंका व्यक्त गरेका छन्।
चक्रपथ विस्तार आयोजनाको समुन्वय गर्न नेपाल सरकारले बनाएको संयन्त्रका इन्जिनियरहरु भने अहिले नै उक्त निष्कर्षमा पुग्न नहुने बताउछन्।
आयोजनाको आधा भाग र त्यसमा पनि जटिल कामहरु प्राय सबै सकिएको र अब गर्नुपर्ने काम धेरै देखिएको पनि कामको प्रकृति सफ्ट भएकोले समयमै सम्पन्न हुनेमा आशावादी रहेको बताउँछन् इन्जिनियर निरिन्जन अर्याल।
हालसम्म कोटेश्वरदेखि एकान्तकुनासम्म साइड लेनमा बेस हाल्ने, कम्प्रेसन गर्ने काम सकिएको उक्त क्षेत्रमा अहिले बीच भागमा फाइनल लेयर राख्ने काम भइरहेको छ। त्यस्तै एकान्तकुनादेखि कलंकीसम्मको पाँचकिलोमिटर क्षेत्रमा वरीपरी बेस बनाएर कम्प्रेसन गर्ने काम धमाधम भइरहेको इन्जिनियर अर्यालले जानकारी दिए।
‘हेर्दा गर्नुपर्ने काम धेरै छ तर अकाशे पुल बनिसकेका छन्, अन्डरपास पनि द्रुत गतिमा बनिरहेको छ’ उनले भने,‘अब बेस हालेर कम्प्रेसन गर्ने र सँगै अन्तिम कालोपत्रेको लेयर हालेर फाइनल टच दिनमात्र बाँकी हो।’
सडक विस्तार पछि चक्रपथको यो खण्डमा आठ लेन हुनेछन्। जसमा हाल दुई लेनको सडकको छेउमा २÷२ लेन हुनेछन्। फुटपाथ पनि हुनेछन् भने चारवटा पुल पनि हुनेछन्।
कूल १० दशमलब ३९ किलोमिटर सडक खण्ड विस्तरको कामसँगै चीनसरकारले नै बाँकी १७ किलोमिटर सडक पनि बनाइदिने भएको छ। जसको लागि दोस्रो खण्डमा कलंकीदेखि महागंजसम्मको खण्डमा सम्भाव्यता अध्ययन भइसकेको छ।
सडक विभागका वैदेशिक सहयोग समुन्वय महाशाखा प्रमुख संजय श्रेष्ठका अनुसार त्यसलगत्तकै बाँकी खण्डको पनि अध्ययन सम्पन्न हुने बताए। अहिले दोस्रो खण्डको अध्ययन प्रतिवेदनको अध्ययन भइरहेको छ।