बागलुङमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा १० नमूना सहर बनाउने भनिएको १२ वर्षसम्म पनि अपेक्षा गरिएअनुसारको काम हुन सकेको छैन।
आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन बागलुङको बुर्तिबाङमा नयाँ सहर बनाउने काम अगाडि बढाएको थियो। २०६९ मा नयाँ सहर बनाउने घोषणा गरिएको हो।
विसं २०६९ देखि २०९० सम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो। तर आयोजान सुरु भएदेखि हालसम्म ७८ करोड रूपैयाँ भन्दा बढी रकम सरकारले विनियोजन गरेको छ। त्यसमध्ये ५० करोड रूपैयाँमात्र खर्च भएको छ।
नयाँ सहर आयोजनाले अझै थुप्रै पूर्वाधारका क्षेत्रमा काम गर्न बाँकी नै छ। पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको राष्ट्रिय गौरवको आयोजना कार्यालयका सुचना अधिकारी कोमल शाहले जानकारी दिए।
उनका अनुसार आयोजनाले हालसम्म १६ दशमलव तीन किलोमिटर सडक ढलान, ६ दशमलव तीन किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, दुई सय ७२ स्थानमा सौर्यबत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरिएको छ।
अहिले बसपार्क र टर्मिनल भवन निर्माण भइरहेको छ। विनियोजित रकम खर्चका आधारमा पाँच प्रतिशतमात्र काम भएको उनले जानकारी दिए।
तारीखेतबाट कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलबाट दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ।
बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र र नेपालको एकमात्र सिकार आरक्षण ढोरपाटनको प्रवेशद्वार हो। बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ।
नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत पूर्वधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सूचना अधिकारी शाहले जानकारी दिए।
सरकारले हालसम्म आर्थिक वर्ष २०७२/७३ मा ४ करोड ४७ लाख, २०७३/७४ मा ८ करोड २२ लाख, २०७४/७५ मा १६ करोड ४० लाख, २०७५/७६ मा १३ करोड ६ हजार, २०७६/७७ मा ७ करोड ५७ लाख, २०७७/७८ मा ६ करोड ७३ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।
त्यस्तै २०७८/७९ मा १२ करोड ६ लाख, २०७९/८० मा १८ करोड ३३ लाख, २०८०/८१ मा ७ करोड ३३ लाख छ भने चालु आर्थिक वर्षमा नौ करोड ९५ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो।
हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न सकिएको छैन। अझै चुरेलावासमा पुल, खेलमैदान, सडक, हाटबजार, शीतभण्डार निर्माणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको उनले जानकारी दिए।
बर्सेनि करोडौंको बजेट आउँदा पनि नयाँ सहरको काम सोचेजस्तो नभएको स्थानीय कुलमबहादुर घर्ती बताउँछन्।
'१०/१२ वर्ष भयो यो नयाँ सहरको काम सुरु भएको तर अहिलेसम्म गतिलो संरचना बनेको देखिँदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ, ओहोरदोहोर गर्न गाह्रो छ,'स्थानीय घर्तीले भने, 'साँघुरो सडकमा जोखिम मोलेर हिँडिरहेका छौं।'
उनका अनुसार फोहर व्यवस्थापन पनि हुनसकेको छैन। काम गरेपछि त केही फरकपन हुनुपर्ने हो तर छैन।