नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) ले स्वदेशमा नै औषधि उत्पादन गर्दै आएका उद्योगीहरुले चालेको कदमप्रति आपत्ति जनाएको छ। उद्योगीहरुले आत्मनिर्भरताको नामममा सिन्डिकेट लाद्न खोजेको संघको आरोप छ।
वि.सं. २०३० सालमा स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय मापदण्डका गुणस्तरीय औषधिहरु विदेशबाट आयात गरी सर्भसुलभ रुपमा विक्रीवितरण गर्दै आएको एनसीडीएले औषधि आयात रोक्नुपर्ने कारणको चित्तबुझ्दो जवाफ दिन चुनौति दिएको छ।
स्वदेशमा नै औषधि उत्पादन गर्दै आएका उद्योगहरुले आवश्यक विभिन्न ३० वटा औषधिहरु नेपालमा नै उत्पादन भइरहेको भन्दै बाहिरबाट आयात गर्न बन्द गर्नुपर्ने माग गरेका छन्।
२०७१ जेठ २६ गते सचिवस्तरीय निर्णयको बुँदा नम्बर १३ मा पाँच वटा स्वदेशी कम्पनीहरुले दावी विरोध पेस गरेमा सो औषधि कुनै पनि व्यवसायीले विदेशबाट ल्याउन नपाइने उल्लेख छ। स्वदेशी औषधि उत्पादक व्यवसायीहरु नै यतिबेला उत्पादन नहुने औषधिहरु आफैले मात्रै आयात गर्न पाउनुपर्ने मागगर्दै आएका छन्।
एनसीडीएले स्वदेशी औषधि उद्योगहरुले आत्मनिर्भरको नाममा विदेशबाट आयत हुँदै आएका औषधिहरु बन्द गराएर जनतालाई महँगोमा नेपाली औषधि भिडाउन खोजेको भन्दै त्यसको विरोध गरिरहेको छ।
यसैबीच स्वदेशी औषधि उत्पादन व्यवसायीहरुका कारण अप्ठेरोमा परेको एनसीडीएले समस्या समाधानका लागि उपसमिति समेत गठन गरेको छ। झण्डै दुई हजार भन्दा बढी व्यवसायीहरु यस संस्थामा आबद्ध छन्।
‘औषधिमा अत्मनिर्भर हुनु एकदमै राम्रो पक्ष हो, त्यसको स्वागत गर्छौं। तर, आत्मनिर्भरताको नाममा सस्तोमा पाइरहेको गुणस्तरीय औषधि बन्द गरेर जबरजस्त महँगो मूल्यमा भिडाउनु कति उचित हो?,’ नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने।
उनले स्वदेशी उत्पादनभन्दा बाहिरबाट ल्याएर सस्तोमा औषधि खुवाइरहेको दावी गरे। ‘औषधि जस्तो संवेदनशील बस्तुमा किन सिन्डिकेट लगाउन खोजिन्छ? सरकारले पनि त यस विषयमा सोच्नुपर्छ’ उनले भने।