यही असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढी–पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रूपैयाँ लाग्ने अनुमान गरेको हो।
गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रूपैयाँ बाँकी छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बाढी–पहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए।
अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवं मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरे।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।
क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झन्डै तीन अर्ब ७७ करोड रूपैयाँ लाग्ने अनुमान छ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रूपैयाँ लाग्ने अनुमान छ। क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नुपर्ने नयाँ बेलिब्रिजका लागि ८० करोड रूपैयाँ लाग्ने अनुमान छ। वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।