एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ।
फाउन्डेसनले सोमबार गोदावरीका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडाहरू (वडा नम्बर ४, ७, ८, १० र १३) का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।
'संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो। हामी सबै एक ठूलो परिवारको रूपमा जोडिएका छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सिएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विपदको यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट आएको राहत एकदमै ठूलो सहयोग भएको बताए।
राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाइजिन किट, ब्ल्यांकेट र म्याट लगायत छन्।
गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।
एनसेलकी खड्काले राहत सहयोगको बारेमा थप प्रकाश पार्दै भनिन्, 'एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै ग्रासरूट लेभलमा आवश्यक सहयोग पुर्याउँदै आएको छ र भविष्यमा पनि आपतविपदमा सहयोग पुर्याउन तत्पर छ। सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं।'