विभिन्न बहुराष्ट्रिय सूचना प्रविधि वेबसाइटहरूमा समस्या आउँदा संसारभरका व्यवसायहरूमा असर पारेको छ।
रोयटर्सका अनुसार शुक्रबार विभिन्न देशमा रहेका बैंक, एयरलाइन्स, रेलवे, टेलिभिजन, रेडिओ तथा सञ्चारमाध्यमदेखि सुपरमार्केटहरू सम्मका व्यवसायमा असर परेको हो।
उनीहरूले दैनिक काममा प्रयोग गर्ने वेबसाइट ‘स्क्रिन’ डाउन भएपछि व्यवसाय प्रभावित भएको बताएका छन्। यसलाई ‘विश्वव्यापी आइटी समस्या’ भनिएको छ। अष्ट्रेलिया, अमेरिका, युरोप, देखि भारतसम्म यो समस्याले असर पारेको छ।
नेपालमा भने हालसम्म यो समस्याबारे सार्वजनिक जानकारी आइसकेको छैन।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले यसको समस्या नेपालमा अहिलेसम्म नदेखिएको बताएका छन्।
‘अहिलेसम्म त्यस्तै कुनै पनि खबर हामीलाई प्राप्त भएको छैन। हाम्रो साइबर सेक्युरिटी सेन्टर यहाँ पनि छ। उहाँहरूले पनि त्यस्तो किसिमको समस्याबारे कुनै पनि जानकारी दिनुभएको छैन। काम भइरहेको छ। कहीँ केही भएको भए खबर हुन्थ्यो। तर अहिलेसम्म छैन,’ उनले सेतोपाटीसँग भने।
बिबिसीका अनुसार यो सबै समस्या ‘क्राउडस्ट्राइक’ नामक साइबर सुरक्षा कम्पनीबाट सुरू भएको हो। यो कम्पनी साइबर सुरक्षामा सबैभन्दा ठूलोमध्ये मानिन्छ। यसबारे सोध्न क्राउडस्ट्राइकलाई सम्पर्क गरेको तर उसले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले लेखेको छ।
यसले अमेरिकामा आपतकालीन सञ्चार सेवा ९११ नम्बरमा समेत असर पारेको छ। अलास्कामा ९११ काम नगरेको भन्दै केही सूचनाहरू आएको बिबिसीले समाचारमा उल्लेख गरेको छ।
यसले एयरलाइन्स क्षेत्रमा पनि ठूलो असर पारेको छ। एयरलाइन्सको कम्प्युटरमा बाधा हुँदा उडान अवतरण र सञ्चालन तालिका नै प्रभावित भएको छ। हालसम्म एक हजार भन्दा बढी उडान रद्द गरिसकेको जानकारीमा आएको छ।
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लगायत केहीले भने ‘म्यानुअल्ली’ (मान्छेले हातैले फ्लाइट विवरण लेखेर) उडान र अवतरण तालिका मिलाइरहेका छन्। तर थुप्रै विमानस्थलमा उडान हेरफेर हुँदा घण्टौं लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ।
त्यस्तै टिभी, अनलाइन सञ्चार माध्यम र केही रेडिओहरू पनि चल्न छाडेका छन्।
जर्मनीमा त अस्पतालमा तय भएको दुई वटा शल्यक्रिया समेत रद्द गरिएको छ।
यसबाहेक पेरिस ओलम्पिकको आइटी सिस्टममा पनि असर देखाएको छ।
विश्वव्यापी रूपमा देखिएको यो समस्या समाधानका लागि विज्ञ लगायतको सम्बन्धित निकायहरूको बैठक चलिरहेको छ। सबैजसो देश र साइबर सुरक्षा कम्पनीहरूले यसका पछाडि क्राउडस्ट्राइककै समस्या रहेको बताइरहेका छन्।
अमेरिकाको टेक्ससमा रहेको क्राउडस्ट्राइक उच्च तहको साइबर सुरक्षा दिने कम्पनी हो। यसमा गुगल लगायत विभिन्न ठूला कम्पनीको लगानी छ। यो कम्पनी सन् २०१९ अमेरिकी सेयर बजार ‘नास्डाक’मा सूचीकृत भएको थियो।
केही सञ्चार माध्यमहरूले बताएअनुसार क्राउडस्ट्राइकको सिस्टम अपडेटका कारण आजको समस्या सिर्जना भएको हो। मुख्यरूपमा यसले माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युटर लगायत उपकरणहरूको स्क्रिन निलो मात्रै देखाएको छ। धेरैले यी उपकरणहरू बनाउने प्रयास गर्दा पनि खुल्दै नखुलेको बताएका छन्। धेरै समयसम्म यो समस्या देखा पर्दा विश्वव्यापी रूपमा माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा आधारित रहेर काम गरिरहेका कम्पनीहरूको काममा असर परेको हो।