कात्तिक ५ देखि ११ गतेसम्म चीनमा हुन गइरहेको चौथो पारा एसियन गेम्समा सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरूलाई एनसेलले सफलताको शुभकामना दिएको छ।
पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाई कार्यक्रम आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे।
एनसेलले राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालसँग सहकार्य गरेको छ।
यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा १९ जना पारा खेलाडीहरु खेल्नेछन्। एथ्लेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ।
आफ्नो खेल प्रति खेलाडीहरुको लगनशीलता र इच्छा शक्तिको एनसेलले सम्मान गरेको छ। यही विश्वासलाई अझै बलियो साथ प्रदान गर्दै एनसेलले पारा खेलाडीहरुको समग्र विकास र आवश्यक प्रशिक्षणकालागि एनपीसीसँग सहकार्य गरेको जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने, 'आज हामी सबैको लागि यो एक गर्वको क्षण हो। हाम्रा पारा खेलाडीहरू हौसला र साहसका एक उदाहरण र प्रेरणाका स्रोत हुन्। भिन्न क्षमता भएका वर्गहरूलाई सम्मान गर्दै उनीहरूको सपनालाई साथ दिएर अघि बढाउन सहयोग गर्न एनसेल सदैव तत्पर छ। एनसेल र एनपिसीको यो सहकार्यले धेरैभन्दा धेरै पारा खेलाडीहरूको विकासमा सहयोग पुर् याउने विश्वास लिएका छौं।'
यस्तै, राष्ट्रिय पारालम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले देशका विभिन्न कुनामा रहेका पारा खेलाडीहरुको समग्र विकास र तालिमको लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताएका छन्।
'पारा खेलाडीहरुको लागि भएको यो पहिलो सहयोग हो र हामी यस किसिमको पहलको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहान्छौं। हाम्रो यो सहकार्य हाम्रा पारा खेलाडीहरुको हौसला र प्रत्येक खेलाडीहरूमा रहेको आत्मविश्वासको उपज हो। यस सहकार्यलाई थप प्रभावकारी बनाउँदै हाम्रा खेलाडीहरुको मनोबल सदैव उच्च हुने गरी काम गर्न हामी तत्पर छौं,' शिवाकोटीले भने।
यस्तै, आफ्नो सपनाहरु ठूलो रहेको बताउँदै यी सपनाहरु साकार पार्न दृढ संकल्पमा कुनै कमी नरहेको पारा एथलिट साङबु भोटेले बताए।
चौथो पारा एसियन गेम्स यही चीनको ह्वाङ्जाओ सहरमा हुँदैछ। जसका लागि खेलाडीहरू त्यसतर्फ प्रस्थान गरिसकेका छन्।