सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडिएमएस) मा दर्ता नभएका मोबाइल फोनलाई दर्ता गर्न यही असार मसान्तसम्मको लागि समय तोकेको छ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै २०८० साल जेठ १५ गतेसम्म नेपालमा प्रयोग भइरहेका मोबाइल फोन असार मसान्तसम्ममा महसुल बुझाई दर्ता गर्न सक्ने व्यवस्था गरेको बताएका हुन्।
'सम्वत् २०८० साल जेठ १५ गतेसम्म नेपालमा प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको एमडिएमएसमा विभिन्न कारणले दर्ता हुन नसकेका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले एक पटकका लागि २०८० साल असार मसान्तसम्ममा तोकिएबमोजिम एकमुष्ट महसुल बुझाई दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छु,' अर्थमन्त्री महतले भनेका छन्।