नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एनटी फाइबर सेवा (एफटिटिएच) को शुभारम्भ गरेको छ।
गत जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको टेलिकमको भनाइ छ।
टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सिपिइ हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरे।
एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्।
यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटिटिएच सेवा उपलब्ध गराइसकेको बताएको छ।
फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ।
यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिने कम्पनीको भनाइ छ।
एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् 'अब एउटैमा तीन प्लस १' सेवा नामाकरण गरेको छ।
हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटिटिएच प्याकेज वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध छ।
त्यसैगरी, एनटिटिभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबिपिएसको इन्टरनेट, तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटिटिभी सेवा उपलब्ध गराइएको छ।