केही दिनयता नेपाल टेलिकमका विभिन्न शाखाहरूमा ‘भ्याकेन्सी’ खोलिएको भन्दै फैलिएको गलत सूचनाको भ्रममा नपर्न नेपाल टेलिकमले आग्रह गरेको छ।
टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो।
विज्ञप्तिमा भनिएको छ 'केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ।'
साथै, कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीले बताएको छ।
यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न समेत टेलिकमले अनुरोध गरेको छ।