आइफोन १५ सार्वजनिक अगावै आइफोन १६ को विशेषताहरू बाहिरिन थालेको छ।
प्रविधिसम्बन्धी सूचना तथा जानकारी प्रकाशन गर्ने वेबसाइट ग्याजेट्स ३६० का अनुसार एप्पलले सन् २०२३ को सेप्टेम्बरमा आइफोन १५ सार्वजनिक गर्ने तयारी गरेको छ। यद्यपि उक्त मोडल सार्वजनिक हुनु अघि आइफोन १६ कै विशेषताहरू सार्वजनिक हुन थालेको हो।
बाहिरिएको नयाँ जानकारीअनुसार आइफोन १६ सिरिजका फोनहरूमा आइफोन १२ को जस्तै क्यामेरा मोड्युल डिजाइन हुनेछ।आइफोन १६ मा ठाडो क्यामेरा लेआउट हुने अनुमान छ।
सार्वजनिक हुने तयारीमा रहेको आइफोन १५ मा तेर्सो लेआउटको क्यामेरा हुनेछ। यसले गर्दा पनि आइफोन १५ र १६ मोडेलको फोन छुट्याउन मद्दत गर्नेछ।
तर आइफोन १६ सन् २०२४ मा मात्रै सार्वजनिक हुने हुँदा यसमा परिवर्तन हुने सम्भावनहरू पनि धेरै रहेको बताइएको छ।
एप्पलले आइफोन १२ को पछाडि भागमा डुअल क्यामेरा सेटअपसँगै एलइडी फ्यास राखेको थियो। क्यामेराको सेन्सर ठाडो तरिकामा राखिएको थियो। आइफोन १३ देखि क्यामेरा र सेन्सरको सेटअप एक वर्ग आकारको मोड्युलमा तेस्रो हुन थालेको छ।
'आइफोन १२ को जस्तै क्यामेरा र सेन्सर डिजाइन बनाउने हो भने आइफोन १६ केही भिन्न भने पक्कै देखिन्छ,' ग्याजेट्स ३६० ले लेखेको छ, 'सार्वजनिक जानकारी अनुसार यसको नच पनि पिल (औषधिको गोली) आकारको हुनेछ।'
सोमबार मात्रै पनि आइफोन १६ सिरजको आइफोन १६ प्रो र १६ प्रो म्याक्स (अल्ट्रा) को डिस्प्ले कस्तो हुनेछ भन्नेबारे केही जानकारी बाहिरिएको थियो। नाइन टु फाइभ म्याकले जनाएअनुसार आइफोन १६ प्रो र १६ प्रो म्याक्सको स्क्रिन आइफोन १५ सिरिजको तुलनामा ठूलो हुनेछ।
कम्पनीले आइफोन १६ प्रोमा ६.३ इन्च र आइफोन १६ प्रो म्याक्समा ६.९ इन्चको स्क्रिन दिने बताइएको छ। नाइन टु फाइभ म्याकका अनुसार आइफोन १६ प्रो म्याक्स मोडलको नाम कम्पनीले आइफोन १६ अल्ट्रा राख्ने देखिएको छ।