फाइभजी परिक्षणको लागि सरकारले अनुमति दिए लगत्तै परिक्षण थाल्ने एनसेलले बताएको छ।
बिहीबार प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले हालसम्म सरकारले एनसेललाई फाइभजी परिक्षणका लागि अनुमति नदिएको बताउँदै उक्त अनुमति पाएलगत्तै परिक्षण थाल्ने बताएका हुन्।
‘एनसेलले हालसम्म फाइभजी परिक्षणको लागि अनुमति पाएको छैन। यदी अनुमति पाए छोटो समयमै परिक्षण थाल्नेछौं,’ उनले भने।
उनले एनसेलसँग दक्षिण एशियाको पाँच मुलुकमा फाइभजी परिक्षण गरेको अनुभव रहेको बताउँदै नेपालमा कम्पनीले व्यवस्थित ढंगमा छिटो काम सक्ने बताए। उनले भने, ‘फाइभजी परिक्षणक्रम देखिने प्राविधिक समस्याहरू हामीलाई पनि पर्न सक्छ। तर हामीसँग लामो समयदेखिको अनुभव भएकाले समयमै समस्याको समाधान गरेर तोकिएको अवधीमा परिक्षण गर्न सक्ने क्षमता छ।’
नेपालमा फाइभजी सुरू भए यसले शिक्षा, स्वास्थ, मनोरञ्जनदेखि हरेक क्षेत्रमा सहयोग पुर्याउने र उन्नत प्रविधिको विकासमा सहयोग पुग्ने उनको भनाइ छ।
एनसेलका प्रमुख सूचना अधिकारी उपाध्यायले सरकारले नेपाल टेलिकमलाई हरेक क्षेत्रमा सहयोग गर्ने तर निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक एनसेललाई बेवास्ता गरेको समेत आरोप लगाए।
‘सरकारले नेपाल टेलिकमलाई बढी प्राथमिकता र मौका दिएको देख्छु। गत जुलाईमा नै फाइभजी परिक्षण सक्ने भनिएता पनि हालसम्म राम्ररी परिक्षण भएको छैन। यस्तो अवस्थामा अझै पनि सरकारले एनटिसीलाई नै पोस्छु भन्ने कुरा आपत्तिजनक छ,’ उनले भने।