फोनपेले आफ्ना साझेदार बैंकहरूसँगको सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा गरेको छ।
फोनपेका साझेदार बैंकहरू सिटिजन्स इन्टरनेसनल बैंक, एभरेस्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुंगा विकास बैंक हुन्।
क्यासब्याक योजना अन्तर्गत, नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५० प्रतिशतसम्म, अधिकतम पाँच सय रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्।
यो अभियान भदौ ११ देखि सुरू हुनेछ। यसको उद्देश्य थप ग्राहकहरूलाई फोनपे क्रेडिट कार्डमार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्नु भएको कम्पनीले जनाएको छ।
गत वर्षको सुरूआतदेखि नै, फोनपे क्रेडिट कार्डले परम्परागत क्रेडिट कार्डका फाइदालाई डिजिटल नवप्रवर्तनसँग जोडेर नेपाली उपभोक्ताको क्रेडिट अनुभवलाई रूपान्तरण गरेको कम्पनीले जनाएको छ।
त्यस्तै केवल एक वर्षभित्रै, यो कार्डको प्रयोगकर्ता संख्या १२ हजार नाघिसकेको छ। यसले उपभोक्ताहरूको विश्वास र अपनत्वलाई स्पष्ट गरेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुने यस कार्डले फारम भर्ने झन्झट वा पर्खाइ समयलाई समाप्त गरिदिन्छ। यसबाट प्रयोगकर्ताले तुरून्त कारोबार गर्न सक्छन्।
कार्ड सक्रिय गरेपछि ग्राहकले नेपालभरका १७ लाखभन्दा बढी फोनपे क्युआर व्यापारीमा स्क्यान गरेर भुक्तानी गर्न सक्छन् जसले यसलाई नेपालको सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको कम्पनीको भनाइ छ।
अभियानबारे कुरा गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमारले भने, 'म प्रायः सोच्ने गर्छु – विकसित राष्ट्रहरूमा क्रेडिट कार्ड प्रयोग गर्नु सास फेर्ने जत्तिकै सामान्य भइसकेको छ। हरेक नागरिकले आफ्नो दैनिकीमा यी उपकरणलाई सहजै प्रयोग गर्छन्। फोनपे क्रेडिट कार्डमार्फत हाम्रो दृष्टिकोण भनेको हरेक नेपाली नागरिकलाई पनि त्यस्तै आधुनिक वित्तीय उपकरण र भुक्तानीको सुविधा उपलब्ध गराउनु हो। यो क्यासब्याक अभियानले केवल पहुँच दिने मात्र होइन, यी वित्तीय उपकरणलाई वास्तवमै लाभदायक र पुरस्कृत बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ। जब हामीले यस्ता स्मार्ट वित्तीय उत्पादनलाई सजिलो र आकर्षक बनाउँछौं, हामी नेपालमा अझ बलियो र समावेशी डिजिटल अर्थतन्त्र निर्माणतर्फ योगदान दिन्छौं।'
यस अभियानमार्फत, फोनपेले फेरि एकपटक सबैका लागि भुक्तानीलाई स्मार्ट, सजिलो र सुरक्षित बनाउन आफ्नो प्रतिबद्धता देखाएको कम्पनीको भनाइ छ।
'परम्परागत क्रेडिट कार्डका फाइदा र डिजिटल भुक्तानीको गति तथा सजिलोपनलाई जोडेर, फोनपे क्रेडिट कार्डले नेपालको वित्तीय प्रणालीमा नयाँ स्तर स्थापना गरेको छ,' कम्पनीले भनेको छ।
फोनपे क्रेडिट कार्ड एक पूर्णतया डिजिटल सुविधा हो, जसले प्रयोगकर्तालाई देशभरका कुनै पनि फोनपे क्युआर व्यापारीमा स्क्यान गरी भुक्तानी गर्न सक्षम बनाउँछ।