भनिन्छ — व्यवसाय सफल हुन काम मात्र नयाँ होइन, तरिका पनि नयाँ चाहिन्छ। तरिकामा सानो परिवर्तन गर्दा पनि ठूलो फरक पर्न सक्छ।
पछिल्लो समय नयाँ व्यवसायीहरूले यो कुरा आत्मसात गरेका देखिन्छन्। खासगरी होटल र रेस्टुरेन्ट क्षेत्रमा नयाँ शैलीको लहर नै चलेको छ।
यस्तै फरक सोचको एउटा उदाहरण हो, काठमाडौं नजिकै चन्द्रगिरिको मातातीर्थमा बनेको 'जंगल महल वेलनेस रिसोर्ट'।
मातातीर्थतिर उकालो चढ्दै जाँदा एउटा मोडपछि अचानक देखापर्छ हरियो जंगल। स्वागतमा हुन्छन् — चराचुरूंगीको आवाज, बोटबिरूवाको सर्सराहट, अनि हावामा हरर जडीबुटीको बास्ना।
करिब १६ रोपनी क्षेत्रमा फैलिएको यही शान्त हरियालीबीच उभिएको छ, जंगल महल वेलनेस रिसोर्ट।
सञ्चालक दिनेश प्रसाईंका अनुसार यो रिसोर्ट बस्ने ठाउँ मात्र होइन; प्रकृतिसँग साक्षात्कारको अनुभव हो जहाँ पाहुनाले योग, आयुर्वेद र प्राकृतिक उपचारमार्फत तन र मनलाई आराम दिन सक्छन्।
'त्यसैले यो स्वास्थ्य, शान्ति र प्रकृतिको त्रिवेणी हो,' दिनेशले भने, 'हामीले व्यवसायमा नयाँ शैली खोजेर स्वास्थ्य र पर्यटनलाई एकसाथ जोडेका छौं।'
झन्डै ७० करोड रूपैयाँ लगानीमा बनेको यो रिसोर्टको मुख्य विशेषता नै यहाँको हरियाली र प्राकृतिक वातावरण हो।
हरियाली कायम राख्न कुल जग्गाको ५ रोपनीमा मात्र निर्माण कार्य गरिएका छन्। बाँकी १० रोपनीभन्दा बढीमा रूखबिरूवा लगाइएको छ। त्यसबाहेक रिसोर्टकै वरिपरि मातातीर्थको प्राकृतिक जंगल क्षेत्र पनि छँदैछ। घना जंगलमा रमाउनेहरूका लागि काठमाडौं नजिकको उपयुक्त गन्तव्य यही हो।
'विश्व पर्यटन बजारले पछिल्लो समय आयुर्वेद र योगलाई पछ्याइरहेको छ। हामीले यो वेलनेस रिसोर्टमा त्यही खालको सेवा–सुविधा दिन खोजेका छौं,' प्रसाईंले भने।
दिनेश प्रसाईं
यहाँ पाखानबेद, घोडताप्रे, तितेपाती लगायत थुप्रै जडीबुटी, फलफूल र वनस्पतिहरू ठूलो संख्यामा देख्न पाइन्छ। यी सबै पाहुनालाई देखाउन र प्रयोगका लागि नर्सरीबाट ल्याएर रोपिएका हुन्।
त्यस्तै, यहाँ संरचना बनाउने बेला भेटिएका ढुंगाहरू संरक्षण गरेर राखिएका छन्। यसले रिसोर्टको स्वरूपमा फरकपन दिनुका साथै आकर्षक सजावटको काम गरेको छ। जस्तै — पार्किङ छेउको क्षेत्रलाई 'ढुंगेअड्डा' नाम दिइएको छ। ढुंगेअड्डाभित्र रिसेप्सन र लबी छ। यसको सजावट ढुंगैढुंगाले गरिएको छ। बस्नलाई ठुल्ठूला ढुंगामाथि नरम चकटी राखिएको छ।
'रिसोर्ट बनाउँदा भेटिएका जति पनि ढुंगा थिए, ती सबै यहीँ सजाएका छौं,' दिनेशले भने, 'यसले रिसोर्टको सुन्दरतामा निखार ल्याएको छ।'
ढुंगेअड्डाबाट उकालो चढेपछि पानी पिउन तीनवटा ढुंगेधारा छन्। साथमा फल्चा छ। फल्चामा विभिन्न जडीबुटीको तेल प्रयोग गरेर खुट्टा र टाउको मालिस तथा शुद्धीकरण गरिन्छ। फल्चामा बसी बसी काठमाडौं उपत्यकासँगै आधा दर्जनभन्दा बढी हिमाल देखिने दिनेश बताउँछन्।
रिसोर्टमा एउटा ठूलो हल छ, जसलाई 'मातातीर्थ हल' नाम दिइएको छ। यहाँ रिसोर्ट आउने पर्यटकहरूलाई योग गराइन्छ। एउटा स्वीमिङ पुल पनि छ।
दिनेशका अनुसार यो पूर्ण रूपमा साकाहारी रिसोर्ट हो। मदिराजन्य पदार्थ पनि निषेध छ। यहाँ एकपटकमा ५० जना बसेर खान मिल्ने रैथाने रेस्टुरेन्ट छ। मौसमअनुसारका तरकारी र फलफूल मेनुमा समावेश गरिन्छन्।


कोदोका परिकार नै १५ थरीका पाक्छन्। यसबाहेक सिस्नोको सुप, ठोट्नेको अचार, निगुरो, कर्कलो र कालो चामलको भात बढी रूचाइने परिकारमा पर्छन्।
'हामीले सकेसम्म अन्त नपाइने र फरक खानेकुरा दिन खोजेका छौं,' दिनेशले भने, 'कोदो, मकै, फापर लगायतबाट बनाइएको खानेकुरा यहाँ धेरै पाक्छ।'
सागसब्जीका लागि उनले रिसोर्ट नजिकै जग्गा भाडामा लिएर तरकारी लगाएका छन्। त्यसबाहेक आवश्यक सागसब्जी मातातीर्थबाटै किन्छन्।
बेकरी परिकारका लागि रेस्टुरेन्टको बाहिरपट्टि सानो घर छ, जहाँ दाउरा बालेर बेकरीका परिकार पकाइन्छन्।
रिसोर्टको अर्को मुख्य आकर्षण आयुर्वेद र योग हो। आयुर्वेद उपचारका लागि दिनेशले एक जना आयुर्वेदिक डाक्टर राखेका छन्। थेरापीका लागि एक जना डाक्टर र पाँच जना थेरापिस्ट छन्। एक जना योग गुरू पनि छन्। उनीहरूको उपचार विधि र योग पद्धति नियाल्न विभिन्न प्राध्यापक र विज्ञलाई समेत आबद्ध गरिएको दिनेश बताउँछन्।
'विज्ञहरूको सल्लाह र सुझावका आधारमा हामीले आयुर्वेद उपचार र योग अभ्यासका विभिन्न प्याकेज कार्यान्वयन गरिरहेका छौं,' उनले भने, 'आज पनि योग र आयुर्वेद उपचारका लागि धेरै नेपाली भारतको केरला, इन्डोनेसियाको बाली र श्रीलंका जान्छन्। त्यही गुणस्तरको उपचार हामी यहीँ दिइरहेका छौं।'
रिसोर्टमा ३६ वटा डिलक्स कोठा छन्। प्रत्येक कोठालाई चराचुरूंगी, वनस्पति र जडीबुटीको नाम दिइएको छ। यसबाहेक थप १० वटा प्रिमियम कोठा सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए।


यहाँ कोठा मात्र बुक गर्न पाइँदैन। रिसोर्टको मुख्य उद्देश्य 'वेलनेस' अर्थात् योग र आयुर्वेद उपचार भएकाले त्यसका लागि आउने ग्राहकलाई मात्र कोठा दिइने उनले बताए।
'हामी कोठा र खाना मात्र बेच्दैनौं। त्यसका लागि त अरू होटल र रिसोर्ट टन्नै छन्,' सञ्चालक दिनेशले भने, 'योग र थेरापीका लागि आउनेहरूलाई मात्र यहाँ राख्छौं।'
उनले रिसोर्टमा आउने पाहुनालाई सकेसम्म लामो समय राख्न त्यसैअनुसारको प्याकेज बनाएका छन्। थेरापीका लागि एक दिनको प्याकेजदेखि ३५ दिनसम्मका प्याकेज उपलब्ध छन्।
'हाम्रो उद्देश्य पर्यटकलाई 'लङ–स्टे' गराउने हो। यसमा सेवा–सुविधा थपघट गर्ने तयारी भइरहेको छ,' उनले भने, 'अहिले पनि जंगल महल आउने पर्यटकहरू दुई सातासम्म रमाएरै बसिरहनुभएको छ।'
कुनै पनि ग्राहकको माग र उपचारअनुसार समयावधि बढ्दै जाने उनको भनाइ छ। दैनिक प्याकेजको शुल्क प्रतिव्यक्ति ५ हजारदेखि ८ हजार रूपैयाँ छ। यसमा प्याकेजअनुसार खाना र खाजाको व्यवस्था हुन्छ। दुई रात, तीन दिन बस्न आउनेका लागि सिंगल कोठाको प्रतिव्यक्ति २८ हजार र कोठा साझेदारी गरी एउटा मात्र बेड लिए २२ हजार रूपैयाँ पर्छ।


यहाँ दुईवटा र एउटा बेडरूम भएका कोठा छन्। एकथरी कोठा जंगलतिर फर्किएको छ भने अर्काथरी कोठा काठमाडौं सहर र हिमालतिर फर्किएको छ। तपाईं कोठाबाट जंगलको हरियाली हेर्न चाहनुहुन्छ कि काठमाडौंको घना बस्ती र हिमशृंखला; त्यस आधारमा कोठा छनौट गर्न सक्नुहुन्छ।
'कुनै पनि कोठामा टेलिभिजन छैन,' उनले भने, 'टेलिभिजनले मान्छेलाई प्रकृतिबाट टाढा बनाउँछ। हाम्रो उद्देश्य मान्छेलाई प्रकृतिसँग नजिक ल्याउनु हो।'
दिनेश पर्यटन क्षेत्रमा लागेको १५ वर्षभन्दा बढी भयो। अध्ययनका हिसाबले उनी समाजशास्त्री हुन्। त्रिभुवन विश्वविद्यालयमा पढाउँछन् पनि। उनले १५ वर्षभन्दा अगाडि पोखरामा 'जल महल' होटल खोलेका थिए। त्यही होटल सञ्चालन क्रममा पर्यटकहरूले काठमाडौंमा पनि खोल्न सुझाव दिएपछि यो अवधारणा जन्मिएको दिनेशले बताए।
'पोखरामा होटल चलाइरहँदा काठमाडौंमा छैन भनेर धेरै विदेशीले सोध्नुहुन्थ्यो,' उनले भने, 'त्यसपछि केही फरक सुविधा दिने सोचले वेलनेस रिसोर्ट खोल्ने आइडिया आयो।'
उनी रिसोर्टको निम्ति काठमाडौं वरपरका धेरै ठाउँ घुमे। आखिरमा मध्य सहर र प्राकृतिक हरियाली दुवैसँग निकट गन्तव्यका आधारमा मातातीर्थ नै उपयुक्त देखिएको उनले बताए।
'अहिले जंगल महल भएको ठाउँ पहिले काफलघारी थियो। त्यही काफलघारीलाई बीचमा राखेर रिसोर्ट बनाउने हामीले योजना बनायौं,' काफल बगैंचा देखाउँदै उनले भने, 'यो बगैंचामा चराहरू धेरै आइरहन्छन्। थानकोटदेखि मच्छेनारायण बीचमा ३५० भन्दा बढी प्रजातिका चरा पाइन्छन्। बिहान–बेलुकी त चराचुरूंगीको आवाजले वातावरण नै छुट्टै बन्छ।'
उनले रिसोर्ट वरिपरि चराचुरूंगी संरक्षण हुने खालका रूखबिरूवासमेत रोपेका छन्।
यो रिसोर्टको निर्माण सन् २०२० मा सुरू भएको थियो। कोभिड महामारीले निर्माण सम्पन्न हुन केही समय लाग्यो। तीन वर्षमा रिसोर्ट सञ्चालन गर्ने तयारी भए पनि पाँच वर्ष लागेको उनले बताए। गत अप्रिलबाट सञ्चालनमा आएको रिसोर्टमा ५० जनाले रोजगारी पाएका छन्।
'अहिले फाट्टफुट्ट पर्यटक आइरहेका छन्। नोभेम्बर र डिसेम्बरका लागि पूरा 'अकुपेन्सी' भइसकेको छ,' उनले भने, 'राम्रो सेवा–सुविधा दिन सकियो भने पर्यटक आफै खोज्दै आउने रहेछन्।'
***






