सरकारले संचालनमा ल्याएको सुपथ मूल्य पसलमा १४ सय रुपैयाँको सामान किन्दा उपभोक्ताको करिब २ सय रुपैयाँ बचत हुने गर्दछ।
बाहिरी पसलमाभन्दा सरकारी पसलमा सबैजसो सामानको मूल्य सस्तो छ। त्यसमा पनि दाल, जिरा धनियाँ, तेल र चिनीको मूल्य बाहिरी पसलमा भन्दा सहुलियत दरका पसलमा झनै सस्तो छ।
हरेक वर्षझैँ यस वर्ष पनि दसैँ, तिहार, छठ, इद र ल्होसार जस्ता चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएका छन्। साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले यी पसल सञ्चालनमा ल्याएका हुन्।
हेर्नुहोस् सुपथ मूल्य पसलमा किन्दा कुन खाद्यान्नमा कति रकम बचत हुन्छ ?
खाद्यान्न |
बाहिरी खुद्रा मूल्य |
सुपथ पसलको मूल्य |
बचत रकम |
चिनी २ केजी |
१८० रुपैयाँ |
१५५ रुपैयाँ |
२५ रुपैयाँ |
मैदा १ केजी |
९० रुपैयाँ |
८५ रुपैयाँ |
५ रुपैयाँ |
लोकल चिउरा १ केजी |
९० रुपैयाँ |
७२ रुपैयाँ |
१८ रुपैयाँ |
रहरको दाल (ननपोलिस) १ केजी |
१८० रुपैयाँ |
१३५ रुपैयाँ |
४५ रुपैयाँ |
मासको दाल (ठूलो दाना) १ केजी |
१४० रुपैयाँ |
१३० रुपैयाँ |
१० रुपैयाँ |
सेफ सनफ्लावर तेल १ लिटर |
१६० रुपैयाँ |
१३२ रुपैयाँ |
२८ रुपैयाँ |
त्रिप्ती तोरी तेल १ लिटर |
१७० रुपैयाँ |
१३५ रुपैयाँ |
३५ रुपैयाँ |
धनियाँ (५०० ग्राम) |
१४५ रुपैयाँ |
१३५ रुपैयाँ |
१० रुपैयाँ |
जिरा (५०० ग्राम) |
२९५ रुपैयाँ |
२७५ रुपैयाँ |
२० रुपैयाँ |
लसुन र अदुवा (एक एक सय ग्राम) |
१९५ रुपैयाँ |
१८५ रुपैयाँ |
१० रुपैयाँ |
जम्मा रकम |
१,६४५ रुपैयाँ |
१,४३९ रुपैयाँ |
२०६ रुपैयाँ |
सरकारले सुपथ मूल्य पसल सञ्चालनका लागि साल्ट ट्रेडिङलाई एक करोड ८५ लाख तथा खाद्य संस्थानलाई ६० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो। पसलमा तीनै संस्थानले नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, गेडागुडी, चिउरा लगायत सबै खाद्यान्न विक्रीमा राखेका छन्।
त्यस्तै घ्यु प्रति एक लिटरमा १०, आधा लिटरमा ५ तथा पनिर आधा केजीमा ५ र २ सय ग्राममा २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ। चाडपर्वमा कालोबजारी हुन नदिन तथा उपभोक्तालाई राहत दिन भन्दै सरकारले सरकारी संस्थानहरुमार्फत हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।
साल्ट ट्रेडिङ संस्थानका उपनिर्देशक कुमार राजभण्डारीले सुपथ मूल्य पसलबाट लाभ उठाउन सबैलाई अनुरोध गरे। उनले भने, ‘सरकारी संस्थानहरु नाफामुखी भन्दा पनि सेवा केन्द्रित हुने हुँदा बजारमा चाडबाडको बेला उपभोक्तालाई सहज होस् भन्दै विभिन्न स्थानमा पसल सञ्चालनमा ल्याइएको हो, यसबाट सकेसम्म सबैले फाइदा उठाऊँ।’
उपत्यका भित्र कोटेश्वर, जोरपाटी, सिंहदरबार, संतुगल, बल्खु, कुलेश्वर, कालीमाटी, टेकु, थापाथली, जाउलाखेल, सुर्यविनायक तथा कीर्तिपुर गरी विभिन्न १३ स्थानमा राखिएको छ।
उपत्यका बाहिर भने साल्ट ट्रेडिङ र खाद्य संस्थानका कार्यालय भएका अछाम, बाजुरा, धनगढी, मेहन्द्रनगर, पोखरा, दिपायल, डडेलधुरा, दाङ, बझाङ, सुर्खेत, भैरहवा, नेपालगन्ज, टीकापुर, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, हेटौंडा लगायतका २२ स्थानमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
सुपथ मूल्य पसल इद र ल्होसारसम्म चल्ने बताइएको छ। यी पसलहरु बिहान १० बजेदेखि साँझ साढे ५ बजेसम्म संचालन भइरहेका छन्।
यो पनि हेर्नुहोस्चाडपर्वका लागि खुले ‘सुपथ मूल्य पसल’, यस्तो छ सामानको मूल्य सूची