पुस लागेसँगै काठमाडौंको मौसम चिसो भइसकेको छ। पछिल्लो समय बजारमा हिटर, कित्ली, बाक्लो कपडा लगायतका सामान किन्नेको संख्या बढ्दो छ।
यसमा पनि पानी तताउने विद्युतीय भाँडोको व्यापार बढी नै भएको व्यापारीहरू बताउँछन्। कोरोना महामारी फैलिएसँगै तातो पानी खाने चलन बढ्दै गएपछि नै पानी तताउने कित्लीको बजार उकालो लागेको उनीहरूको भनाइ छ।
महाबौद्धका व्यापारी सुजल अधिकारी भन्छन्, 'कित्ली व्यापार कोरोना सुरू भएदेखि नै बढेको हो। अहिले चिसो याम लागेपछि झन् माग धान्नै नसक्ने स्थिति छ।'
सामान्य कुरामा ध्यान दिए यस्ता विद्युतीय कित्ली प्रयोग गर्दा कुनै जोखिम नहुने उनले बताए। चलाइरहेका बेलामा कित्ली ओभानो ठाउँमा राख्ने, कपडाको छेउछाउ नराख्ने, भन्छाका अरू सामान भन्दा केही पर राख्नुपर्ने अधिकारीको सुझाव छ।
त्यस्तै, कित्ली बिग्रिएको छ भने थोरै पैसा खर्च गरेर बनाउन सकिने उनले बताए।
'यसको मुख्य समस्या तार बिग्रिने हो। यसलाई सजिलै फेर्न सकिन्छ। त्यस्तै पुरानो हुँदै गएपछि रड, प्लेट, स्विच बिग्रने हुन्छ। यो बिजुली पसलमा गएर बनाउन सकिन्छ,' उनले भने।
अधिकारीका अनुसार बजारमा प्लेट र रड गरी दुई प्रकारका कित्ली उपलब्ध छन्। रडवाला कित्ली धेरै प्रयोग भए पनि पछिल्लो समय प्लेटवाला कित्ली प्रोयोग बढेको छ।
यी दुवै प्रकारका कित्लीको मूल्यमा खास्सै फरक नभएको उनले जानकारी दिए।
बजारमा विशेषगरी ५, ६ र ७ लिटरका कित्ली उपलब्ध छन्। यीमध्ये ५ र ६ लिटरका कित्ली धेरै बिक्ने अधिकारी बताउँछन्।
‘५ लिटर भन्दा सानो कित्ली खास्सै उपयोगी हुँदैन। बरु ग्राहकले त्यसको सट्टा विद्युतीय जग प्रयोग गर्छन्। त्यस्तै ७ लिटरभन्दा ठूलो कित्ली पनि धेरै बिक्री नहुने भएकाले व्यापारीले ल्याउनै खोज्दैनन्,’ उनले भने।
हामीले यहाँ तीन आकारका कित्ली र त्यसको सामान्य मूल्य उल्लेख गरेका छौं। पसल र कित्लीको ब्रान्डअनुसार मूल्य तलमाथि हुन सक्ने अधिकारीले जानकारी दिए।
५ लिटरः १५ सयदेखि १६ सय रूपैयाँसम्म
६ लिटरः १७ सयदेखि १८ रूपैयाँसम्म
७ लिटरः २२ सयदेखि २४ सय रूपैयाँसम्म।