प्रशोधन उद्योगहरुले खाने तेलको मूल्य बढाएका छन्। खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यका अनुसार सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको छ।
यसअघि औसतमा प्रतिलिटर १७० रुपैयाँ रहेको सूर्यमूखी तेलको मूल्य अहिले २०० रुपैयाँ पुगेको छ। आधा लिटर तेलको मूल्य नै १ सय रुपैयाँ पुगेको छ।
ब्राण्डअनुसार लिटरमा १०–१२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको उनले बताए।
‘होलसेलबाटै बढेर आएको छ, प्याकेटमै लेखिएको मूल्य बढेको छ’ बज्राचार्यले भने। तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको उनले बताए।
उनका अनुसार फरक फरक कम्पनीले फरक फरकका दरले मूल्य बढाएका छन्।
‘ग्राहकले हामीसँग गुनासो गर्छन्, हामीले त होलसेलबाट आएको मूल्यअनुसार निर्धारण गर्ने हो, लेखिएको मूल्यभन्दा बढी हामी लिँदैनौँ’ बज्राचार्यले भने।
तिहारपछि नै तेलको मूल्य बढेर आएको उनले बताए।