धेरैलाई मनपर्ने परिकारमध्ये एक हो मटर-पनीर। झन् दसैंमा मासुको एकनास स्वादले दिक्क पारेको पनि हुन सक्छ।
यस्तो भए, मटर-पनीर खाइहेर्नुस्। खान त खाने, तर धेरैलाई यो कसरी पकाउने भन्ने थाहा हुँदैन। सबै प्रक्रिया पुर्याएर पकाउने हो भने हामीले घरमै स्वादिलो मटर-पनीर बनाउन सक्छौं।
आवश्यक सामग्री
–पनिर
–१ सानो कचौरा ग्रिन्डरमा पिसेको प्याज
–१ सानो कचौरा ग्रिन्डरमा पिसेका गोलभेडा
–भिजाएको मटर वा हरियो केराउ
– तेजपत्ता
–तेल
– नुन
– गरम मसला
– जिरा धनियाँको धुलो
–रातो धुलो खुसार्नी
– लसुन अदुवाको पेस्ट
– बेसार
बनाउने तरिका
मटर पनि बनाउँदा सामान्यतया पनिरलाई घनाकार काटिन्छ। तर आफ्नो रूचिअुनसार आकार दिन सकिन्छ।
काटिएको पनिरलाई तेलमा फ्राई गर्नुस्। फ्राइ गर्दा पनिरलाई चलाई रहनुपर्छ जसले गर्दा सबैतिर समान रुपमा पाक्छ। पनिर रातो भएपछि त्यसलाई झिकेर थोरै पानी राखेको भाडोमा हाल्ने। पानीले पनिरलाई नरम बनाउन मद्दत गर्छ। पनिर केही बेर भिज्नका लागि छोड्दिने।
अब कराई बसाल्नुस् र त्योसमा थोरै तेल राख्नुस्। तेल तातेपछि त्यसमा तेजपता फ्राइ गर्नुस्। लगत्तै त्यसमा ग्रिन्डरमा पिसेको प्याज हालेर चलाउने। प्याज हल्का रातो रङको भएपछि १ चम्चा बेसार, १ चम्चा जिरा धनियाँको धुलो, लसुन अदुवाको पेस्ट, १ चम्चा नुन पालै पालो हालेर चलाउनुपर्छ।
अनि त्यसमा सानो कचौराको एक कचौरा ग्रिन्डरमा पिसेको गोलभेडा हालेर राम्रोसँग चलाउनुस्। राम्रोसँग पाकेपछि त्यसमा १ चम्चा गरम मसला र थोरै धुलो खुर्सानी राखेर केहीबेर चलाउने।
अब यसमा मटर हाल्ने र केही बेर पकाउने। अघि भिजाएको पनिर पानी सहितै हालिदिने। यसलाई केहीबेर पकाएपछि मटर-पनीर तयार भयो।