विश्वव्यापी रूपमा कारोना भाइरसको संक्रमणसँगै उपभोक्ताले घरमा ग्यास मौज्दात गर्न थालेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको थियो।
यसलाई मध्येनजर गदै नेपाल आयाल निगले चैत १३ गतेबाट बजारमा ७.१ केजीको आधा सिलिण्डर ग्यास पठाउने निर्णय गर्यो। पुरा सिलिण्डरमा १४.२ केजी हुन्छ।
पछिल्लो समय बजारमा ग्यासको डीपोमा उपभोक्ताको लाम पनि देखिदैँन। अहिले बजारमा ग्यासको खपत कम भएको व्यवासायीहरू बताउँछन्।
खपत कम भएपछि ४० देखि ५० बुलेट ग्यास कम्पनीमै रहेको नेपाल एलपी ग्यासका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।
बुलेटमै ग्यास थन्किएपछि आयल निगमलाई पुरा सिलिण्डर बजारमा पठाउन माग गरेको भण्डारीले बताए।
‘अहिले बजारमा ग्यासको सहज भएको छ। उद्योगका भण्डार पनि भरिइसके, त्यसैले आयल निगमलाई पुरा सिलिण्डर पठाउन पाउँ भनि पत्र दिएका छौं,’ उनले भने।
उनका अनुसार नेपालमा भएका ५९ ग्यास उद्योगसँग करिब ४ देखि ६ बुलेट ग्यास स्टोरेज गर्ने क्षमता छ। आधा सिलिण्डर ग्यास बजारमा लैजाँदा २ देखि ३ बुुलेट ग्यास स्टोरमै बसेको छ।
आधा सिलिण्डर ग्यास डीपोमा लैजाँदा ढुवानीमा समेत नोक्सान हुने उनले गुनासो गरे।
‘पुरा सिलिण्डर ग्यास लैजाँदा जति ढुवानी लाग्छ त्यति नै आधा सिलिण्डर ग्यास लैजाँदा तिर्नुपर्छ, त्यसले हामीलाई घाटा हुन्छ’, उनले भने।
पुरा सिलिण्डर ग्यास बजारमा पठाउन पाए नयाँ ग्यासको लोडिङको काम पनि अगाडी बढ्ने उनको भनाइ छ।
कम्पनीले आधा सिलिण्डर ग्यास डिपोमा लान नमान्ने गरेको ग्यास बिक्रेता महासंघ नेपालका कोषाध्यक्ष राजेश दाहालले बताए।
‘कम्पनीलाई ढुवानीमा नोक्सान हुने भएकाले आधा सिलिण्डर ग्यास ल्याइँदिदैनन्,’ उनले भने।
आधा सिलिण्डर ग्यासको आधा पैसा भएकाले खुल्ला पैसामा समेत व्यापारीलाई समस्या परेको उनले बताए। ‘बैंक वित्तीय संस्था सबै बन्द छन्, आधा सिलिण्डर ग्यास बेच्न असहज छ,’ उनले भने।
आधा सिलिण्डर ग्यास भनेपछि उपभोक्ताले पनि खास्सै चासो नदेखाएको उनले बताए।
आधा सिलिण्डर ग्यासमा उपभोक्ता समेत ठगिएको देखिन्छ। पुरा सिलिण्डर ग्यासको १३ सय ७५ रूपैयाँ पर्छ।
आधा सिलिण्डरको ६ सय ८७ रूपैयाँ ५० पैसा तोकिएको छ। तर ब्यापारीले अनेक बहाना बनाई ग्राहकसँग बढी मूूल्य लिने गरेको देखिएको छ।
गत बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आधासिलिण्डर ग्यासलाई ८ सय रुपैयाँमा बिक्री गरेको भन्दै २ लाख रूपैयाँ जरिवाना गरेको छ ।
टाढाका उपभोक्ता साल्ट ट्रेडिङमा ग्यास लिन आइरहेकोले एक दुुईदिन बजारको अवस्था हेरेर मात्र यसबारे निर्णय गरिने आयल निगमका निर्देशक सुुरेन्द्र पोडेलले बताए। उनका अनुसार हाल दैनिक २ हजार टनभन्दा माथि ग्यास आइरहेको छ।