लक डाउनका बेला तरकारीका खुद्रा व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेका छन्। अनुगमन नहुने भएपछि उनीहरूले चार सय प्रतिशतसम्म नाफा राखेर तरकारी बेचिरहेका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्य हर्ने हो भने दिन प्रतिदिन तरकारीको मूल्य घटेको छ।
तर उपभोक्ताले भने तरकारीको मूल्य दिनदिनै बढी तिर्नु परेको छ।
सोमबार कालिमाटी बजारमा सेतो मुलाको थोक मूल्य औसत १२ रूपैयाँ किलो छ तर उपभोक्ताका लागि भने चाबहिलको तरकारी बजारमा ४० देखि ५० रूपैयाँ तोकिएको छ।
चाबहिलको तरकारी बजार यो क्षेत्रको ठूलो तरकारी बजार हो।
लक डाउनले गर्दा बजारलाई व्यवस्थित पारिएको छ।
भीड नहोस् भनेर भुइँमा कोठैकोठा बनाइएको छ। बजार समितिले साँझमा अनावश्यक मानिसको बजारमा भीड लाग्यो भनेर आजबाट बिहान ५ देखि ७ बजेसम्म पसल सञ्चालन गर्न दिइएको छ। त्यहाँका अधिकांश व्यापारीले कालामाटीबाटै तरकारील ल्याउने गर्छन्।
तर उपभोक्ताले तिर्नुपरेको महंगो शुल्कबारे भने व्यवस्थापन समितिले चासो देखाएको छैन।
कालिमाटीमा तराई गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सीमी प्रतिकेजी २० रूपैयाँ छ तर उपभोक्ताका लागि भने ४० देखि ५० रूपैयाँ तोकिएको छ।
कालिमाटीको थोक मूल्य हरियो खुसार्नी ७५ देखि ८५ रूपैयाँ किलो छ। उपभोक्ताका लागि भने पाउको ५० देखि ६० रूपैयाँ छ। डल्ले च्याउ कालिमाटीमा डल्ले च्याउ २ सय ५० रूपैयाँ छ तर उपभोक्ताका लागि ४ सय ५० तोकिएको छ।
यो त ठूलो बजार मूल्य हो। जति भित्री क्षेत्र गयो उपभोक्ताले उति नै महंगो मूल्य तिर्नुपर्छ।
चाबहिलको तरकारी बजारमा गोलभेडा ५० रुपैयाँ किलो छ तर बाँनियाटारको तरकारी बजारमा ६० देखि ७० रुपैयाँ किलो छ।
गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सिमी प्रतिकेजी चाबहिलको तरकारी बजारमा ४० देखि ५० रूपैयाँ छ भने बाँनियाटार क्षेत्रमा ५० देखि ६० रूपैयाँ छ।