२०७२ सालको भुकम्पपछि भारतले लगाएको नाकाबन्दी समयमा चीन सरकारले दिएको इन्डक्सन चुलो लगभग सकिएको छ।
हाल करिब ५ सय वटा मात्र चुलो बाँकी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।
‘नेशनल ट्रेडिङ खारेज हुँदा ७ हजार ३ सय ४० वटा चुलो बाँकी थियो। बिचमा फाट्टफुट्ट मात्र बिक्री भयो। अहिले करिब ५/६ सय वटा होला,’ उनले सेतोपाटीसगँ भने, ‘प्याकेजिङ बिग्रिएका ती चुलो अहिले बेचेका छैनौ। बिग्रिएको छ की छैन चेक गरेर फेरि बिक्रीमा राख्छौं।’
नेशनल ट्रेडिङले ११ हजार आधार मूल्यमा भन्सार तिरेर ल्याएको उक्त चुलो सुरुमा ११ हजारमा बिक्रीमा राखिएको थियो। लोडसेडिङको समस्या र चर्को मूल्यको कारण इन्डक्सन चुलोमा सुरुमा खासै कसैले रुचि देखाएनन्।
पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य समायोजन गरेर ४ हजारमा बिक्री गरेपनि धेरै बिक्री हुन सकेको थिएन। लकडाउनमा भने यही चुलोको माग ह्वात्तै बढेर बिक्री भएको खनालले जानकारी दिए।