बजारमा ग्यास नपाएर हैरान हुनुभएको छ भने अब ढुक्क हुनुहोस्। ग्यास आपूर्ति बढेपनि दिनप्रतिदिन ग्यास नपाएको उपभोक्ताको गुनासो बढेपछि आयल निगम र एलपी ग्यास उद्योग संघको संयुक्त सहकार्यमा आइतबार(आज)देखि विशेष डिलरहरूबाट ग्यास ब्रिक्री हुँदैछ।
ती डिलर बिहान १० देखि बेलुका ५ बजेसम्म खुला हुने छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा २२ वटा उद्योगले विशेष डिलरबाट ग्यास बिक्री सुरू गरेको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।
‘विहान १० बजेबाट बेच्न सुरू गरिसकेका छौँ, उपभोक्ताको भीड छ’, अध्यक्ष भण्डारीले भने, ‘उपभोक्ताको चाप हेरेर आवश्यकता परे अन्य ठाउँबाट पनि बेच्नेछौं।’
उनका अनुसार एक व्यक्तिलाई एक सिलिण्डर ग्यास दिइएको छ।
नेपाल ग्यासले काठमाडौंको बालाजुस्थित बिएमसी कर्नर, अनामनगर स्टोर र ललितपुरको सातदोबाटोस्थित एसएन स्टोरबाट ग्यास उपलब्ध गराएको छ।
त्यस्तै, सगर र चण्डी ग्यासले जडीबुटीस्थित डिपोबाट ग्यास उपलब्ध गराउने छन्। साल्ट ट्रेडिङ कर्पोरेसनले कालिमाटीस्थित केन्द्रीय कार्यालय र जडीबुटीस्थित शाखा कार्यालयबाट एसटिसी ग्यास दिनेछ।
थली (डाँछी) स्थित आदर्श स्टोर र नैकापस्थित उत्सव खड्का स्टोरमा ओम ग्यास पाइने छ।
कपनमा रहेको भद्रा फ्युल सेन्टर र धुम्बाराहीमा रहेको इलाइड सिलअगाडि उपभोक्ताले बाबा, श्री र लुम्बिनी ग्यास लिन सक्नेछन्।
अशिम किचन एन्ड सप्लायर्समा एचपी ग्यास, इमाडोलस्थित केसी एलपी ग्यास सप्लायर्समा सिद्धार्थ र सतुंगलस्थित कम्पनीको डिपोमा श्री माया ग्यास पाइनेछ।
त्यस्तै, नैकापस्थित भान्जा टेडर्समा लोकप्रिय, सीतापाइलास्थित बिक्री डिपोमा राजधानी र जगातीस्थित जोशी भीमसेन स्टोरबाट सूर्य ग्यास पाइने छ।
गीता ग्यासले धुम्बाराहीस्थित टोयाटा सोरूमअघि, हिमाल ग्यासले भगवती बहालस्थित प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, नमस्ते ग्यासले कोटेश्वर (मनोहरा) स्थित कमार स्टोर, भानु ग्यासले गंगबुस्थित लीला ग्यास डिपो, एभरेस्ट र सुगम ग्यासले सिफलस्थित ग्यास एन्ड अक्सिजन ट्रेडमा बिक्री वितरण गर्नेछन्।
हरिसिद्धि (ललितपुर) स्थित बिक्री डिपोमा श्रीराम ग्यास, सानेपास्थित सुमन सम्राट स्टोर र न्यु नविन स्टोरमा मनोज ग्यास पाइने छ।
यी डिपोका साथै उपभोक्ताले घरनजिकै रहेको डिलरबाट समेत ग्यास पाउने उद्योगीले बताएका छन् ।