कोरोना भाइरसले विश्वभर एक किसिमको त्रास बढाएको छ।
यसै त्रासका कारण खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुने हो की भन्ने डर उपभोक्तामा देखिएको छ जसका कारण उनीहरूले सामान्य अवस्थामा भन्दा बढी सामान किन्न थालेका छन्।
यसले पछिल्लो समय दैनिक उपभोग्य सामानको माग बढेको छ।
बजारमा खाद्यान्न र ग्यास किन्नेको भीड बढी देखिन्छ। माग बढेपछि सामान अपुग भएको व्यापारीहरू बताउँछन्।
गोंगबुमा रहेको सुशील खाद्य स्टोरका सञ्चालक लोकनाथ पौडलले केही दिनदेखि उपभोक्ताले चाहिनेभन्दा बढी सामान किनिरहेको बताए।
‘कोरोना भाइरसले नाकाबन्दी हुन्छ भन्ने डरले मानिसले चाहिनेभन्दा बढी खाद्यान्न तथा ग्यास किनिरहेका छन्,’ उनले भने।
ग्यास र नुनको किन्ने क्रम ह्वात्तै बढेकाले खाद्यान्नको अभावजस्तो देखिएको छ।
‘दाल, चामल, तेल बढी खपत हुने भएकाले पसलमा धेरै नै हुन्छ। त्यस्ता सामान बढी लैजाँदा खासै असर पर्दैन,’ उनले भने, ‘ग्यास र नुनचाहिँ परिवारअनुसार यति खपत हुन्छ भन्ने हुन्छ। बढी लैजाँदा असर पर्छ।’
उनको पसलमा महिनामा ५ सय देखि ६ सिलिन्डर ग्यास आउँछ। दुई-तीन दिन अघि १ सय ४० सिलिन्डर ग्यास आएको थियो। पसलमा रहेको २ सय सिलिन्डर पनि एकै छिनमा सकिएको पौडेलले बताए।
उनका अनुसार अघिपछि एउटा सिलिन्डर ग्यास लिनेले अचेल दुई सिलिन्डर लिने गरेका छन्।
कोरोना भाइरसले खाद्यान्नमा असर नगरेकाले आवश्यकताअनुसार मात्र सामान लैजान उनको आग्रह छ।
पैसा हुनेले अनावश्यक सामान लैजाँदा आर्थिक स्थिति कमजोर भएकालाई असर पर्ने उनी बताउँछन्।
‘जति सामान आउनु पर्ने हो, आइरहेको छ। आवश्यकताभन्दा बढी सामान लैजादा, अरूलाई असर पर्छ,’ उनले भने।
चाबहिल सिफलको ग्यास तथा अक्सिजन ट्रेडर्सका कर्मचारी प्रेमकुमार राई मानिसले चाहिनेभन्दा बढी ग्यास लगेकाले अभावजस्तो देखिएको बताउँछन्।
‘पहिले दैनिक १ गाडी ग्यास आउँथ्यो, अहिले ३-४ गाडी आइरहेको छ। तैपनि पुगेको छैन,’ हामीले सिलिन्डर नै त बेचेका छैनौं,’ उनले भने, ‘धेरै सिलिन्डर हुनेले धेरै लगिरहेका छन्, जसको एक दुईमात्र सिलिन्डर छ, उसलाई समस्या परेको छ।’
ग्यासको आपूर्तिमा समस्या नभएको एलपी ग्यास महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा बताउँछन्।
‘ग्यास आपूर्तिमा केही समस्या छैन, पहिलेको तुलनामा बढी आइरहेको छ’, उनले भने, ‘मानिसले आफूसँग भएको खाली सिलिन्डर सबै भरेकाले अभावजस्तो देखिएको हो, एक हप्तामा यो सबै ठीक हुन्छ।’
अभाव हुन्छ की भन्ने डरले ग्यासजस्ता प्रज्वलनशील वस्तु अनावश्यक रूपमा घरमा नराख्नसमेत उनले आग्रह गरेका छन्।
आयल निगमको तथ्याङ्क हेर्दा पनि पछिल्लो समय ग्यास आपूर्ति बढेको देखिन्छ। पुस महिनामा ३९ हजार १ सय २७ टन ग्यास आयात गर्ने अनुमति दिएकोमा माघ महिनामा ४१ हजार १ सय १५ टन ग्यासलाई अनुमति दिएको छ।
फागुन महिनामा ४५ हजार टन ग्यास आयात गर्ने अनुमति दिएको आयल निगमका निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।
ग्यासको आपूर्ति बढ्दै गएकाले ग्यासको अभाव नहुने निर्देशक पौडेलको भनाइ छ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र वाणिज्य सचिब वैकुण्ठ अर्यालले आपूर्ति व्यवस्थापनका लागि आइतबार एक दर्जनभन्दा बढी स्टोरहरूमा खाद्यान्नको अवस्था जाँच गरेका थिए।
अनुगमनका क्रममा मन्त्री भट्टले उपभोक्तालाई आवश्यकभन्दा बढी सामान नलैजान आग्रह गरे।
उनले इन्धन, खाद्यान्न तथा औषधिको अभाव भए मन्त्रालयमा तुरून्तै जानकारी गराउँन बिक्रेतालाई आग्रह गरेका छन्।