आलु भन्दै प्याज नेपाल पठाउने एक व्यापारीलाई भारतीय अधिकारीहरूले पक्राउ गरेका छन्।
उत्तरप्रदेशको महाराजगञ्ज जिल्ला नौतुनवाका व्यापारी सनी मधेसियालाई डाइरेक्टर अफ रेभेन्यू इन्टेलिजेन्सका अधिकारीले गत शुक्रबार बिहान सबेरै पक्राउ गरेका हुन्।
निर्यातमा प्रतिबन्ध लगाए पनि सीमावर्ती बजारका यी व्यापारीले खुसुखुसु नेपाल प्याज पठाइरहेको सूचना रेभेन्यू इन्टेलिजेन्सका अधिकारीहरूलाई पुगेको थियो। भारतीय अधिकारीहरूले नेपाली अधिकारीहरूलाई पनि यसबारेमा समन्वय गरेका थिए। अनुसन्धानका क्रममा मधेसियाले आलुको बिल बनाउँदै प्याज नेपाल पठाइरहेको खुलेको थियो।
मधेसियाले प्रतिबन्धपछि तीन करोडभन्दा बढीको प्याज नेपाल पठाएको अधिकारीहरूले बताएका छन्।
मधेसियाले आलु हो भन्दै ३६ सय क्विन्टल प्याज नेपाल पठाएको अधिकारीहरूको अनुमान छ।
धेरै नाफा कमाउने लोभमा सनीलगायत व्यापारीले प्याज नेपाल पठाउने गर्थे। अधिकारीहरूसँग उनले यो तस्करीमा संलग्न अरू व्यापारीको नाम पनि लिएका छन्।
खुसुखुस प्याज पठाउने सनी पक्राउ परेपछि शुक्रबारदेखि नेपालमा भारतीय प्याज आउन पूर्ण रूपमा बन्द भएको छ।
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले अहिले नेपाली र चिनियाँ प्याजमात्र बजारमा रहेको बताए।
‘भारतीय प्याज आएको छैन। भएको स्टक प्याज पनि सकियो। हाल बजारमा चाइनिज प्याज मात्र छ,’ उनले भने।
असोज दोस्रो साता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्याजको मूल्य बढ्न थालेको हो।
माग धान्न अहिले नेपालमा चिनियाँ प्याज आयात भइरहेको छ।
कालिमाटी तरकारी बजारको तथ्याङ्कअनुसार भारतीय प्याजभन्दा चिनियाँ प्याज सस्तो छ। चिनियाँ प्याज आएसँगै भाउ पनि केही घटेको छ।
मंसिर १९ र २० गते प्रतिकेजि प्याजको खुद्रा औसत मूल्य १ सय ९५ थियो। २१ र २२ गते क्रमशः २ सय १० र २ सय २५ पुग्यो।
मंसिर २३ र २४ अर्थात् सोमबार र मंगलबार भने चाइनिज प्याजमात्र छ। उक्त प्याजको खुद्रा मूल्य १ सय ८५ र १ सय ७५ रहेको छ।
चिनियाँ प्याज भारतीयभन्दा सस्तो हुने फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए।
‘चाइनिज प्याज ठूलो र खल्लो हुने भएकाले उपभोक्ताले भारतीय प्याज नै चाहन्छन्,’ उनले भने।