दसैंमा खासगरी खसीको मासुको खाने चलन छ।
एकनाश एकैखाले परिकार खाँदा-खाँदा वाक्क लाग्न सक्छ।
नयाँ परिकार बनाउन चाहनुहुन्छ तर सबै मासु पकाइसक्नु भएको छ भने चिन्ता नलिनुहोस्!
आज हामी तपाईंलाई पाकेकै मासुको नयाँ परिकार बनाउन सिकाउनेछौं।
त्यो परिकार हो ‘पुल्ड मिटलोफ’।
धेरैले यस परिकारको नाम नसुनेको हुनसक्छ। युरोपका धेरै देशमा मासुको मुख्य परिकारका रूपमा मिटलोफ खाने गरिन्छ।
आज हामी एक सेफको सहयोगमार्फत् खसीको मासुबाट यो परिकार बनाउन सिकाउने प्रयास गर्दैछौं।
आवश्यक सामग्री
दुई वटा अण्डा
एक वा दुई कप दूध
दुई कप पकाइएको टुक्रा मासु
एक कप माडिएको पाउरोटी
एउटा मसिनो गरी काटिएको हरियो प्याज
स्वादअनुसार नुन
एक देखि चार कप मसिनो गरी काटिएको भेँडे खुर्सानी (क्याप्सिकम)
एक चम्चा सुख्खा तोरी दाना
एक चम्चा कालो मरिचको धूलो
एक वा दुई कप बार्बिक्यु सस
कुकिङ स्प्रे
समयः
तयार गर्ने अवधिः १५ मिनेट
पकाउने अवधिः १ घण्टा
सम्पूर्ण तयारी सकिन लाग्ने अवधिः १ घण्टा २० मिनेट
पकाउने विधि
१. सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।
२. त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।
३. ओभनलाई १७५ डिग्री सेल्सियसमा प्रि-हिट गर्ने।
४. लोफ प्यानलाई कुकिङ स्प्रेले स्प्रे गर्ने।
५. अण्डालाई राम्ररी फिटेर एउटा बटुकोमा राख्ने र त्यसमा खसीको मासु, माडिएको पाउरोटी, भेँडे खुर्सानी, हरियो प्याज, तोरी र मरिच हालेर मजाले चलाउने।
६. उक्त मिसावटलाई अघि तयार पारेको लोफ प्यानमा सार्ने।
७. त्यसमा मासुलाई कसेर दबाउने अनि माथिबाट बार्बिक्यू सस फैलाउने।
८. यसलाई प्रि-हिट गरेको ओभनमा १ घण्टासम्म बेक गर्ने।
९. यसपछि तयार पाकेको मिटलोफलाई ५ देखि १० मिनेटजति सेलाउन दिने। मिटलोफ खानका लागि तयार भयो।
(यो परिकार पकाउने विधि दुई दशकदेखि क्रियाशील वरिष्ठ सेफ कुमार चालिसेको सहायतामा तयार पारिएको हो। उनी अस्ट्रेलियाको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्वारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लागि ‘सर्टिफाइड’ सेफ हुन्। उनले पाकशाष्त्रमा आधारित तीन पुस्तक लेखेका छन्। त्यस्तै, उनी सेफ एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य हुन्।)