अन्य समयमा कामको चटारोले हामी खाना राम्रोसँग बनाउन र खान पनि फुर्सद पाउँदैनौं। अहिले दसैंको बेला फुर्सदले घरमा बसिरहनुभएको छ।
तर के पकाउने कसरी पकाउने भन्ने चिन्ता लिइरहनु भएको छ भने, आउनुहोस् आज हामी तपाईंलाई खसीको फिला बनाउने तरिका सिकाउदैछौं।
यो बनाउन ५५ मिनेट लाग्छ।
आवश्यक सामग्रीः
३ केजी खसीको खुट्टा
नेपाली लसुन ६ पोटी
३ चम्चा सोपको धुलो
भुटेको तोरीको तेल
नुन र मसलाको पेस्ट
मरिचको धुलो
तेजपत्ता
३० ग्राम दही
माथिका सामानहरू तयार छन् भने अब खसीको फिला बनाउनतिर लाग्नुहोस्।
पहिला खसीको खुट्टालाई चिरा चिरा पार्नुहोस्। अब मसलाको पेस्ट र लसुनलाई मासुको भित्रसम्म पुग्ने गरी मोल्नुहोस्। त्यसमाथि तोरीको तेल र तेजपत्ता हालेर फ्रिजमा रातभरि छाडिदिनुस्।
निकालेर केही घन्टा यसै राख्नुस् जबसम्म त्यसको तापक्रम कोठाको तापक्रम जत्तिकै सामान्य हुँदैन।
अब ओभनलाई २ सय २० डिग्री सेन्टिग्रेटसम्म ‘प्री हिट’ गर्नुहोस्। किचन स्ट्रिङ (धागो)ले मासुलाई खुकुलो गरेर बाँध्ने। त्यसपछि रोस्टिङटिन माथि सुरूमा सुकेको मसला राख्ने र त्यस माथि मासु राख्ने। अब त्यसलाई २५ मिनेटसम्म पकाउनुहोस्। अब ओभनको तापक्रम १ सय ८० डिग्री सेन्टिग्रेटसम्म ल्याउने।
अब ओभनबाट मासु निकाल्नुस्। र त्यसलाई अल्मुनियम फोइलले १५ देखि २० मिनेटसम्म छोप्नुहोस्। अब स्वादिष्ट खसीको फिला तयार भयो। तातो र स्वादिलो परिकार खाँदै आफ्ना परिवारसँग दसैं मनाउनुहोस्। स्वास्थ्यको ख्याल राख्न पनि नभुल्नुहोला।