दशैं सुरू भएसँगै राजधानीमा खसीबोकाको बिक्री बढेको छ। उपभोक्ताले स्वास्थ्य खसी पाऊन् भनेर पशु सेवा विभागले प्राविधिक टोलीलाई खसीबोकाको स्वास्थ्य परीक्षण गर्न खटाएको छ।
तपाईं पनि खसी किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाइएको खसी रोज्नुस् है। त्यसो गर्नुभयो भने तपाईंले स्वस्थ खसी पाउनुहुन्छ।
‘खसी स्वस्थ रहेको अवस्थामा सिङमा हरियो रङ पोतिन्छ र अस्वस्थ भेटिए रातो रङ पोतिन्छ,’ प्राविधिक टोलीका पशु चिकित्सक डा. अर्जुन अर्यालले भने।
खसीको स्वास्थ्य परीक्षण गर्दा आँखामा कचेरा, नाकमा सिँगान, ज्वरो छ कि छैन भनेर जाँच गरिन्छ। जाँच गर्दा सबै सामान्य भेटिए खसीको सिङमा हरियो रङ ‘स्प्रे’ गरिन्छ।
जाँच गर्दा ज्वरो, आँखामा कचेरा, नाकमा सिँगान र पातलो दिसा देखिए खसीको सिङमा रातो रङ ‘स्प्रे’ गरिन्छ।
‘अस्वस्थ छ भने तुरून्त रातो रङ लगाएर उपचार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गर्छौं,’ अर्यालले भने।
राजधानीको कलंकी, बल्खु, थानकोट, बालाजु, साँगा, चोभार, टुकुचा र लोकन्थलीको खसीबजारमा प्राविधिक टोलीले खसी बोकाको स्वस्थ्य परीक्षण गर्न सुरू गरेको छ।