आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने भएको छ।
दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आजदेखि १९ गतेसम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
धेरै यात्रुहरु एकैपटक उपत्यका बाहिर जाने भएकोले सवारी साधन अपुग हुने देखिएकोले केही दिन रुट परमिट खुल्ला गरिएको हमालले बताए। ‘छोटो दुरीमा खाली गुड्नुपर्ने सवारी साधनको प्रयोग लामो दुरीको लागि प्रयोग गर्न सकिन्छ र सवारी साधनको अभाव पनि हट्छ,’ उनले भने।
रुट परमिट अझ धेरै दिनको लागि खोल्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए। यति दिनमात्र रुट खोल्दा नवमीमा उपत्यका बाहिर जाने र टिका पछि फर्कने यात्रुलाई समस्या पर्ने सिटौलाको तर्क छ।
अहिलेलाई ७ दिन मात्र रुट परमिट खुल्ला गरेपनि आवश्यक परेमा यसको अवधि बढाउन सकिने हमालले जानकारी दिए। ‘रुट परमिटको दुरुपयोग नहोस् भनेर थोरै दिन मात्र रुट परमिट खोलिएको हो। उपत्यका बाहिर जाने बेलामा मात्र यात्रुको धेरै चाप हुन्छ। फर्कने दिन फरक पर्ने भएकोले समस्या पर्दैन,’ उनले भने।