ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई बिक्रेताहरुले पनि सघाउने भएका छन्।
ग्यास विक्रेता महासंघ नेपालले पत्रकार सम्मेलन गर्दै उद्योगीहरुको घोषित विरोध कार्यक्रमप्रति ऐक्यवद्धता जनाएका हुन्। ६ बुँदे माग अघि सार्दै महासंघले ति माग पूरा नभए ग्यास बिक्री वितरण ठप्प पार्ने चेतावनी दिएको हो।
गत बिहीबार उद्योगीहरुले आफ्ना १० वटा मागहरु पूरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए।त्यसको दुई दिनमै बिक्रेताहरुले अनामनगर स्थित मिडिया इन्टरनेसनलमामा पत्रकार सम्मेलन गरेर बिक्री वितरण नै ठप्प पार्ने चेतावनी दिएका हुन्।
‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा देशभरका बिक्रेताहरुको समर्थन रहेको छ’ संघका महासचिव विनोद काफ्लेले भने।
आफ्ना मागहरु पूरा नभए फागुन ३० गते ग्यास बिक्री वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डरहरु सम्बन्धित निकायमा बुझाउने बिक्रेताहरुले चेतावनी दिएका छन्।
उद्योगीहरुको मागलाई समर्थन गर्दै विक्रेताहरुले बिक्रेता प्रमाणिकरण प्रक्रिया तत्काल शुरु गर्नु पर्ने, बिक्रेता वितरकको कमिशन मूल्यको कम्तिमा ६ प्रतिशत हुनुपर्ने माग अघि सारेका छन्।
यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने, डिलर र डिलरमा काम गर्नेहरुको बीमा गरिनु पर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ।
संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रि वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताए। सरकारले लामो समयसम्म पनि आफ्ना सुनुवाई नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको अध्यक्ष श्रेष्ठले दावी गरे। अझै सरकारले जायज मागहरु पूरा गरे आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने उनले बताए ।
उद्योग सञ्चालन खर्चको आधारमा मुनाफा दिनुपर्ने, अनाधिकृत रूपमा दिएका इजाजत खारेज गर्नुपर्ने, तराईका सबै स्थानहरूमा एउटै बिक्री मूल्य कायम गरिनुपर्ने, नेपाली नम्बरका ग्यास बुलेट सञ्चालनका लागि आवश्यक पहल गरी निकास दिनुपर्ने, प्रमाणिकरण भएका सिलिण्डरको आधारमा कोटा थप गर्नुपर्ने लगायतका माग उद्योगीहरुले अघि सारेका छन्।
ग्यास जस्तो अत्यावश्यक इन्धनको बिक्री वितरण नै ठप्प पार्ने उद्योगी तथा बिक्रेताहरुको चेतावनीप्रति उपभोक्ताकर्मीहरुले विरोध जनाएका छन्। आफ्ना माग राख्न पाउने अधिकार भए पनि उपभोक्तालाई मार पर्नेगरी बिक्री नै ठप्प पार्नु अपराध हुने उनीहरुको तर्क छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष माधव तिमल्सिनाले सरकार र व्यवसायीको चेपुवामा उपभोक्तालाई नपारी व्यवसायीको जायज मागलाई सरकारले पूरा गरिदिनु पर्ने बताए। ‘ग्यास उद्योगी तथा बिक्रेता आन्दोलनमा उत्रिए भने कालो बजारी सुरू हुन्छ। त्यसले उपभोक्ता ठगिने हुनाले सरकारले व्यवसायीको जायज माग छन् भने पूरा गर्नुपर्छ,’ उनले भने।