दसैँको समयमा खसीको मासु अत्याधिक खपत हुने गरेको छ। खसीको मासुका विभिन्न परिकार पकाइने गरिन्छ। माछा मासु खानेका लागि त झन् दसैँमा खसीको नै मासु खानु पर्छ भन्ने मान्यता छ।
घरमा मासु ल्याएपनि विभिन्न परिकार बनाउनको लागि सिपको जरुरत पर्छ। तर सिपको अभावमा धेरै परिकारबनाउन सकिँदैन। सिप नभई पकाउँदा मासु स्वादिलो नहुने, नष्ट हुने, पौष्टिक तत्व नास हुने जस्ता समस्या देखिन सक्छ।
एकै मासुबाट विभिन्न परिकार बनाउन सकिन्छ। आज हामीले भने मटन बिर्यानीको पारिकारकसरी बनाउने भनेर सिकाउँदैछौँ।
चाहिने मुख्य सामाग्री
मटनः १ केजी
प्याजः ५ सय ग्राम
लसु्नः ४५ ग्राम
अदुवाः ४५ ग्राम
तेजपत्ताः केही मात्रा
गरम मसलाः २० ग्राम
केशरः २५ एमएल
घिउः ५० ग्राम
नुनः स्वाद अनुसार
यसमा मासु १ केजीलाई आधार बनाइएको छ। घरको आवश्यकता अनुसार मासु थप्नुपर्ने हो भने त्यसको लागि आवश्यक अन्य सामाग्रीहरु पनि त्यही अनुपातमा थप्नुपर्छ।
सबैभन्दा पहिले भाँडोमा ५० ग्राम जति घिउ राखेर तताउनुहोस्। घिउ तातेसँगै प्याजलाई रातो हुँदासम्म ‘फ्राई’गर्नुपर्छ। यसपछि भाँडोमा मासु राख्ने। मासु राखेपछि लसुन र अदुवा तथा गरम मसला राखेर केही बेर पकाउनु पर्दछ।
त्यसपछि ७ देखि ८ गिलास पानी राखी भाडोले छोप्ने। मासु राम्रोसँग पाकेपछि झोल र पिस लाई छुट्याउने। यसो गर्दा झोल ३ गिलास जति हुनु पर्छ। यदी यो भन्दा कम झोल भयो भने पानी थप्ने र बढी भयो भने केही बेर पकाएर घटाउनु पर्छ।
मटन बिर्यानीको लागि भात पनि आवश्यक पर्दछ। त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रोसँग नपाक्दा सम्म पकाउने। यसपछि भातमा रहेको पानी हटाई सुख्खा बनाउने।
अघि पाकेको मासु र भातलाई मिसाउने। जसमा ‘रोज वाटर’ पनि राख्ने। भातमाथि धनिया र स्याफ्रोनको पात छर्ने। त्यसलगत्तै सबै मोल्ने। यसपछि केही बेर पकाउने। खानका लागि मटन बिर्यानी तयार भयो।
(सन् १९९३ बाट होटल क्षेत्रमा प्रवेश गरेका बिक्रम श्रेष्ठले विभिन्न देशबाट कुकको रुपमा लामो समयको अनुभव लिएका छन्, उनै श्रेष्ठको सहयोगमा यो सामाग्री तयार गरिएको हो।)