दसैँमा विशेषगरी मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन छ। तर सानो लापरबाहीले गर्दा आफू, परिवार वा दसैँ मनाउन आएका पाहुनाहरू बिमारी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्छ।
दसैँमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ। मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन्। यी तत्वहरू हाम्रो शरीरको लागि अति आवश्यक हो।
सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ। तर मासु सही र सन्तुलित ढंगले प्रयोग नगरेको खण्डमा ति तत्व सही रुपमा प्राप्त हुँदैन।
तपाईं–हामीले सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने, सर्ने खतरा रहन्छ।
विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन निष्कर्षअनुसार रातो मासुको अत्याधिक प्रयोगले संवेदनशील अंग मुटुमा असर पार्ने जोखिम उच्च हुनुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ।
सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरका बलिया हड्डीहरू कमजोर हुने खतरा रहन्छ। आर्थाइटिस (हाडजोर्नीसम्बन्धी रोग)को सम्भावना अत्याधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैमा कोलेष्ट्रोलको मात्रा बढ्न जान्छ। जसका कारण इच्छाएको परिकार खानबाट सधै बञ्चित हुनुपर्ने अवस्था आउन सक्छ।
यहाँका मासु पसलमा हुने गरेका लापरवाहीका कारण ब्याक्टेरियाको संक्रमण, जुकाका लार्भाहरू शरिरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने गरेको छ।
फोहर बधशाला, मासुको तयारी र भण्डारणमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरू सर्ने माध्यम बनेको पाइन्छ।
चाडबाडका समयमा धेरै ‘फुड प्वाइजन’का बिमारीहरू अस्पताल आउने गरेको तथ्यांकहरुले देखाउँछ। सही ढंगले मासुका परिकार नपकाउँदा, त्यसलाई स्वस्थकर ढंगले नराख्दा विषाक्तता बढी हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भइ तत्कालै पेट फुल्नेलगायतका लक्षणहरू देखिन थाल्छ।
यस्तो भएमा घरमै उपचार गर्नुका सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा जानुपर्छ।
साधारण कुरामा ध्यान दिन सकेमा उपचार खर्चको ठूलो जोखिम कम गर्न तथा शरीर पनि स्वस्थ राख्न सकिन्छ।
दसैँका लागि खसी बोका किन्दा नै हामीले केही आधारभूत कुरामा ध्यान दिनुपर्छ। हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन। यस्ता लक्षणहरु खसीबोका बिमारी भएको बेला देखाउने गर्छन्।
अहिले काठमाडौं भित्रने खसीबोकाको सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रंगले छुट्याउने गरिएको छ। सिङमा हरियो रंग पोतिएका खसी बोका स्वस्थ हुन् भने रातो रंग दलिएका खसी बोका अस्वस्थ छन्।
दुई–चार सयको लोभमा अस्वस्थ खसीबोका किनेर ल्याउँदा आफै भोलि बिमारी हुने खतरा रहन्छ। त्यसपछि हामीले खसी बोकाको बध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुराहरूमा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ।
यसरी मासुबाट रोगहरु शरीरमा सर्दछ।
–काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा
–फ्रिज बाहिर धेरै बेर राखेको वा भण्डारणका क्रममा फ्रिज प्रयोग नगरेको मासु खाएमा
–मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा नभएमा
– सडेगलेको मासु खाएमा
– मासुको परिकार तयार पार्ने व्यक्ति (कुक) स्वस्थ नभएमा
– अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु खाएमा
– मासु काट्ने अचानो सफा नभएमा
– पशुपन्छीको बधशाला सम्पूर्ण रुपमा फोहरयुक्त र असुरक्षित भएमा
– बध गर्नेवित्तिकै पकाएर खाएमा
स्वस्थ मासु कसरी छान्ने ?
– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका, तराजु सफा छ कि छैन हेर्नु पर्दछ।
– मासु हलुका गुलाबी रंगको हुनु हुँदैन
– मासु हरियो तथा प्याजी रंगको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ।
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ
– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु हुँदैन।
– मासु फ्रिजमा अलग–अलग गरी छोपेर राखेको हुनुपर्छ।
कस्तो मासु नखाने ?
–धेरै दिनसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ।
– बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने
– काँचो मासु वा कुनै भाग नपकाइ खानु हुँदैन। किनभने काँचो मासु नै रोगको भण्डार हो। काँचो मासुबाट रोग सर्ने सम्भावना अत्याधिक रहन्छ।
– पोलेको मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो। मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्याधिक हुन्छ।
– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
– मसला तथा तेलको अत्याधिक प्रयोग नगर्ने
– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने
मासु भण्डारण गर्ने तरिका
– मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा नराख्ने
– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न गर्ने। राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरु मात्र हुन्छन्।
– मासुलाई फ्रिजमा राख्दा माथिल्लो भागमा राख्नु हुँदैन। माथिल्लो भागमा राख्दा किटाणुहरु मासुमै हुुने, तरल पदार्थ हावामार्फत तल्लो सतहमा झर्न सक्ने हुँदा खाना, पाकिसकेका परिकारहरु, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका÷छुट्याइएका परिकारहरु, फलफुल तथा तरकारीमा पर्नसक्ने खतरा रहन्छ।
मासु खाँदा ध्यान दिनुपर्ने कुरा
– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
– दैनिक मासु मात्रै खाने बानी नगर्ने
– मासु खानेवित्तिकै आइसक्रिम, दही, दूध, क्रिमका परिकार नखाने
– दैनिक व्यायाम गर्ने
– आफूलाई स्वस्थ भएको महसुुस नभएमा माछा–मासुको प्रयोग गर्दै नगर्ने
– सुरक्षित उपायहरु अपनाएर भण्डारण गरे–नगरेको एकीन गरेर मात्रै खाने।
– आफूले मासुसम्बन्धी जानेको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने
चालिसे सेफ एसाेसिएसन अफ नेपालका कार्यकारी सदस्य हुन्।