ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै बनाइने भएको छ।
विभिन्न ब्रान्डले सिलिन्डरको फरक फरक मूल्य लिइरहेका बेला नेपाल आयल निगमले समान मूल्य कायम गर्ने तयारी गरेको हो।
हाल सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य वास्तवमा धरौटीवापतको रकम भएकाले त्यसलाई समान गर्न लागिएको निगमले जनाएको छ।
सिलिन्डरका लागि तिर्ने मूल्य फरक–फरक भएका कारण उपभोक्ता समस्यामा परेको गुनासो आएकोले मूल्य एउटै बनाउन लागिएको निगमका कार्यकारी निर्देशक सुशील भट्राईले जानकारी दिए। यसको अध्ययन पुरा भएको भट्टराइले बताए।
‘निगमले तयारी पुरा गरेको छ, अब मन्त्रालयमा प्रस्ताव पठाउँदै छाँै’ उनले भने ‘मन्त्रालयबाट स्वीकृत भइसकेपछि यसलाई लागू गर्नेतर्फ हामी लाग्छौँ।’
सबैको मूल्य एकै भएपछि एक भन्दा धेरै कम्पनीको ग्यास बेच्ने पसल वा डिपोमा सिलिन्डर साट्दा ब्यापारीले अतिरिक्त शुल्क लिन नसक्ने उनको भनाइ छ।
तौल समानजस्तै हुने भएकाले सिलिन्डरको धरौटी रकम फरक–फरक हुनु उचित नभएको ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले बताए।
‘नेपालमा करिव ५५ वटा वोटलिङ प्लान्ट छन्, कतिपय सिलिन्डर नेपाल बाहिरबाट पनि आउँछ। तिनीहरुको मूल्य १ हजार ९ सयदेखि २ हजार २ सय ५० सम्म छ’ उनले भने ‘फरक–फरक धरौटी रकम हुँदा ग्राहक र विक्रेता सबैलाई अन्यौल भएको थियो।’
मूल्य एउटै बनाउने कुरा सुन्दा राम्रो लागे पनि व्यवहारिक रुपमा सम्भव नहुने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी दावी गर्छन्।
‘सिलिन्डरको मूल्य फलामको मूल्यमा आधारित हुन्छ’ उनले भने ‘एउटा सिलिन्डरमा २४ सय लागत लाग्नेले १८ सयमा कसरी बेच्न सक्छ ?’ उनले भने।
फलामको मूल्य घटबढ भइरहने हुँदा सिलिन्डरको मूल्य ‘अटो प्राइसिङ’ गर्न सके मात्रै उपयुक्त हुने उनको भनाई छ।