घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्टको परिक्षण प्रतिवेदन नआउदासम्म विक्री वितरणमा रोक लगाइएको छ ।
घोराही सिमेन्ट ‘गुणस्तरहीन’ भएको घटना सार्वजनिक भएपछि गुणस्तर तथा नाप तौल विभागले विहीवार परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि उत्पादन र विक्रि वितरणमा रोक लगाएको हो । यसैबीच गुणस्तर तथा नाप तौल विभागले दाङको घोराहीस्थित उद्योगबाट ओपिसी र पिपिसी सिमेन्टको नमुना परिक्षणका लागि काठमाडाैं लैजान लागेको जानकारी दिएको छ ।
विभागका निर्देशक मनोजकुमार उपाध्यायले नमुना काठमान्डौं लगेर परिक्षण गरिने र त्यसको प्रतिवेदन नआउँदा सम्म उत्पादन तथा विक्रि वितरणमा पूर्णरुपमा रोक लगाएको सेतोपाटीलाई बताए । विभागका मेकानिकल ईन्जिनियर उमेशकुमार यादवले प्रतिवेदन सार्वजनिक हुन झन्डै एकदेखि डेढ महिनाको समय लाग्न सक्ने जानकारी दिए ।
भिगालको टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते दाङको तुलसीपुर बजारमा बिक्री भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमान्डौं लगेर परिक्षण गर्ने जानकारी दिएको छ ।
बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा निर्माणाधिन घरहरुमा समस्या भएपछि स्थानीयले उजुरी गरेका थिए । त्यसपछिको परिक्षणबाट ओपिसीमा म्याग्नेसियम तत्व बढी देखिएको नाप तौल विभागले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार उस्ले जेठ ३१ गते बजार अनुगमनको क्रममा सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट नमुना परिक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा पठाएको र विभागबाट ‘गुणस्तरहिन’ भएको प्रतिवेदन आएको हुँदा उद्योगको उत्पादन र विक्रि वितरण रोक्न आग्रहसहित पत्रचार गरेको हो ।