जापानको लगानीमा नेपालमा ग्यास उद्योग संचालनमा आउने भएको छ।
राजधानीमा एक कार्यक्रम गरी जापानको साइसान कम्पनीले ‘ग्यास वन’ उद्योग संचालनमा ल्याउने घोषणा गरेको हो। नेपालको बारामा संचालित एनएल ग्यासको ५१ प्रतिशत शेयर जापानको साइसान कम्पनीले किनेको छ। सो कम्पनीले बहु सेयर खरिद गरेसँगै नयाँ प्रविधि तथा संरचनामा उद्योग संचालन हुने भएको हो।
सो अवसरमा एनएल कम्पनीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले सुरक्षित र वैज्ञानिक तवरले ग्यासको वितरणका लागि जापानी लगानी भित्रिएको बताए। यसले ग्यास उद्योग क्षेत्रमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सहज सेवा पाउने उनको भनाइ छ।
कम्पनीले एसियामा द्रुत गतिमा आफ्नो लगानी बिस्तार गरिरहेको छ। कम्पनीले गत साउन २१ गते एनएल ग्यास उद्योगसँग लगानी सम्बन्धि सम्झौता गरेको थियो। कम्पनीले बारा, धादिङ र पोखराबाट उत्पादन सुरु गर्ने छ।
विभिन्न पायक पर्ने स्थानमा भण्डारण ट्याङ्क बनाई पाइप लाईन मार्फत ग्यास सप्लाई गर्ने योजना रहेको ‘साइसनको अन्तर्राष्ट्रिय विभागका सिइओ सातोकी कोइकेले जानकारी दिए।
ठूला अपार्टमेन्ट तथा होटललाई पायक पर्नेगरी भण्डारण ट्याङ्क राखेर ग्यास वितरण गर्ने योजना रहेको उनले बताए।
भण्डारणस्थलबाट पाइपमार्फत नै ग्यास किचनसम्म पुर्याइने सातोकीको भनाइ छ। ‘भण्डारणस्थलसम्म हामीले नै ग्यास पुर्याइदिने छौँ, भण्डारणस्थलमा पाइप जडान गरी आवश्यक भान्सा कोठाहरुमा वितरण हुन्छ, यसले दुवै पक्षको लागतमा समेत कमी आउँछ’ उनले भने।
त्यस्तै व्यवसायिक क्षेत्रका लागि पचास किलो तौल भएको सिलिण्डर उत्पादन गर्ने कम्पनीले जनाएको छ। हालसम्म व्यवसायिक प्रयोजनका लागि सो परिमाणको ग्यास नेपालमा उपलव्ध छैन। व्यवसायिक प्रयोजनका लागि भनेर निलो सिलिण्डरमा ग्यास उपलव्ध गराइँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन।
नेपालमा निजी स्तरका विभिन्न ५१ ग्यास उद्योगहरु तथा सरकारी स्वामित्वको एसटिसी ग्यास उद्योग संचालनमा छ।