श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भिजिट भिसामा जानेहरू श्रम मन्त्रालय तथा मातहतको विभागहरूको सरोकारको विषय नरहेको बताएका छन्।
महानिर्देशक भट्टराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन्।
‘भिजिट भिसा लिएर जानेहरूसँग हाम्रो मन्त्रालय र विभागहरूको कुनै पनि सरोकार छैन। त्यो विषय विशुद्ध अध्यागमनको क्षेत्राधिकारभित्र पर्दछ। हामीले केबल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरूको हकमा मात्रै हाम्रो सरोकार रहन्छ,’ विभागमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा उनले भने।
साथै महानिर्देशक भट्टराईले श्रम स्वीकृति लिएर जाने कामदारहरूले विभागबाट श्रम स्वीकृति लिन सास्ती भोग्नु परेको अवस्थामा हाल आएर त्यसलाई छिटोछरितो र समस्यारहित श्रम स्वीकृति प्रदान गर्न विभागले काम अघि बढाएको पनि बताए।
‘वैदेशिक रोजगारका लागि जाने श्रमिकले एप्लाई गरेकै दिन श्रमस्वीकृति प्रदान गर्ने व्यवस्था गरेका छौं। अझै चुस्तदुरूस्त बनाउन प्रयासरत छौं। यसले श्रम स्वीकृतिका लागि काम गरी रहेका विचौलियाहरूको चेन ब्रेक गर्नेछ। हामी व्यापक सुधारका लागि काम गरी रहेका छौं’, उनले भने।